News एमबिबिएस र फुटबल एक साथ हाँक्दै बिशाल
सुरज राना मगर
बुटवल । नेपालमा उच्च शिक्षा र खेलकुदलाई एक साथ अघि बढाउने कमै भेटिन्छन् । त्यसमा पनि फुटबल खेलमा आवद्ध भएर त्यो भन्दा जटिल एमबीबीएसको तयारी गर्नु पक्कै पनि चानचुने कुरा नहोला । तर फर्साटिकर युवा क्लब, रुपन्देहीका बिशाल खड्कालाई त्यो फुटबल मोहले आफ्नो करियर भने बाधक बनेको छैन ।
 
 रुपन्देहीको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा एमबिबिएसका छात्र बिशाल सम्भवत केही बर्ष मै डाक्टर बन्ने छन् । तर फुटबलप्रतिको मोह उनी त्याग्न चाहँदैनन् । मैदानमा रक्षात्मक मिडफिल्डरका रुपमा उत्रिने बिशालसँग बलजस्तै अध्ययनलाई पनि सँगै लैजाने खुबी छ । जारी जिल्ला लिगमा फर्साटिकर युवा क्लबका एक अहम सदस्य मध्ये विशाल पनि पर्छन ।

स्थायी बसोबास रुपन्देहीको फर्साटिकरमा भए तापनि उनी अध्ययनका लागि हाल होस्टेल मै बस्छन् । तर घरेलु टोली फर्साटिकर युवा क्लबले खेल्ने सबैजसो फुटबल प्रतियोगितामा आफ्नो उपस्थिति जनाउन भने उनी सधै तयार हुन्छन् ।

फर्साटिकर युवा क्लबका अध्यक्ष तथा पूर्व खेलाडी मुकेश कुँवर पनि सकेसम्म बिशाललाई टिम मै राख्न चाहन्छन् । “उसले (बिशाल) राम्रो गर्न सके उसलाई फुटबलमा पनि अझ राम्रो अवसर छ । मेहनत गर्नेले अवसर पनि पाउँछ । बिशाललाई उसको अध्ययनमा बाधा नपरोस भन्ने हामी चाहन्छौं । हाम्रो नजरमा अन्य सरह उनी पनि क्लबका महत्वपुर्ण सदस्य हुन् । अध्ययनको व्यस्तताका बावजुद फुटबल र क्लबप्रतिको उनको लगावलाई हामी सम्मान गर्छौं ।” अध्यक्ष कुँवरले भने ।

त्यसो फुटबलमा लाग्न फर्साटिकरले दिएको अवसर र हौसलाप्रति सधै आभारी छन् विशाल । बिशाल भन्छन्, "करियर आफ्नै ठाउँमा छ, फुटबलप्रति पनि मेरो प्यासन, लगाव र समर्पण छ । भ्याउँदासम्म फुटबलसँगै करियरलाई पनि अगाडी लैजान्छु ।”
Post Comments