News लिस्नुमाथि बुटवल युनाइटेडको सहज जित
सुरज राना मगर

बुटवल । यहाँ जारी रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगितामा शनिबार भएको एक मात्र खेलमा बुटवल युनाइटेडले लिस्नु युवा क्लबमाथि ४–१ को सहज जित निकालेको छ ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सम्पन्न खेलमा बुटवल युनाइटेडका लागि बिमल बिकले दुई गोल गरे । त्यस्तै सनम गुरुङ र साजन परियारले थप एक–एक गोल गरेका थिए । उता पराजित लिस्नुका लागि निकेश गुरुङले पेनाल्टीबाट एक मात्र गोल फर्काएका थिए ।

खेलमा बुटवल युनाइटेडका लागि दुई गोल गरेका बिमल बिक म्यान अफ द म्याच घोषित भए । यो जितसँगै ६ खेलबाट १३ अंक जोडेको बुटवल युनाइटेड दोस्रो स्थानमा उक्लेको छ । पराजित लिस्नु भने ५ अंकका साथ आठौं स्थानमा छ । त्यस्तै एक खेल कम खेलेको गोर्खा ब्वाईज १३ अंकका साथ शिर्ष स्थानमा छ ।

कु्ल दश टोलीहरु सहभागि लिग राउण्ड रोबिनका आधारमा सञ्चालन भईरहेको छ । लिगतालिकाको शिर्ष स्थानमा रहने टोली लिग च्याम्पियन बन्नेछ । विजेताले उपाधिसहित १ लाख हात पार्नेछ भने दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको लिग संयोजक मुकेश कुँवरले बताए ।

Post Comments