News उत्कृष्ट जितका साथ एपिएफको स्थानमा सुधार
गोलनेपाल

काठमाडौं । सिजनको शुरुवातबाटै खराब लयमा रहेर ए डिभिजन लिगमा संघर्षरत विभागीय टोली नेपाल एपिएफ क्लबले सोमबार पहिलो जित दर्ता गरेको छ ।

दशरथ रंगशालामा भएको पाँचौं चरणको अन्तिम खेलमा एपिएफले पुछारको टोली फ्रेण्डस क्लबमाथि ३–१ को उत्कृष्ट जित निकाल्यो । एपिएफको जितमा आशिष लामा स्टार बने र दुई गोल आफ्नो नाममा लेखाए ।

खेलमा एपिएफका लागि गोलको खाता भने बिकी तामाङले खोलेका थिए । बिकीले खेलको ३०औं मिनटमा पहिलो गोल गर्दा त्यसको दुई मिनट लगतै आशिष लामाले त्यो अग्रता दोब्बर पारेका थिए । त्यस्तै दोस्रो हाफको ५६औं मिनटमा लामाले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । जुन एपिएफका लागि अन्तिम गोल पनि बन्यो ।

उता पराजित फ्रेण्डसका लागि ६९औं मिनटमा प्रिजेन तामाङले एक गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् । यो नतिजासँगै ५ खेलबाट ४ अंक जोडेको एपिएफ ११औं स्थानमा उक्लेको छ । उता पराजित फ्रेण्डस भने २ अंकका साथ पुछारमा छ ।

सोमबारको यो नतिजासँगै लिगका पाँचौं चरणका खेलहरु पनि सम्पन्न भएका छन् । साथै ५ खेलबाट १३ अंक जोडेको मनाङ मस्र्याङ्दी क्लब लिगतालिकाको शिर्ष स्थानमा छ ।

 

Post Comments