News तमु ल्होसार गोल्डकपः दमकलाई रोक्दै धरान फाइनलमा
रमेश समदर्शी

धरान महिला फुटबल क्लब तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान टाइब्रकेरमा भाग्यमानी सावित हुँदै फाइनलमा प्रवेश गरेको हो ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दमकको रोयल स्पोर्टिंग क्लबलाई ३-२ गोलअन्तरमा पराजित गर्दै धरानले फाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।

खेलको पहिलो हाफमा राम्रो अवसर पाएको धरानले स्कोर गर्न नसक्दा जित निकाल्न टाइब्रेकर नै पर्खिनु परेको थियो । धरानका लागि राम्रो मुभ निकाले पनि समिक्षा मगर गोल गर्न भने चुकेकी थिइन् ।

यस्तै, दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको दमकका लागि थुप्रै पटक धरानको गोलपोस्टमा आक्रमण गरे पनि कोही खेलाडी सफल हुन सकेनन् । खासगरी दमककी ममता राउतले मिलाइदिएको पासमा सवित्री मगर र पवित्रा राईले गोल गर्न सकेनन् ।

अन्ततः टाइब्रेकरमा धरान विजयी भयो । उसका लागि कोपिला लिम्बू, रंगिला राई र समिक्षाा मगरको प्रहार गोलमा परिण हुँदा प्रतिक्षा राई र आयुशा राईको प्रहार दमककी गोलरक्षक सजिया क्षेत्रीले बचाएकी थिइन् ।

दमकका लागि सन्जु राई, इम्मा राईको प्रहारमात्र गोलमा परिणत भयो भने छत्रिका चौधरी र सावित्री मगरको प्रहार धरानकी गोलरक्षक सिमा आले मगरले बचाउँदा ममता राउतको प्रहार बाहिरिएको थियो ।

खेलको प्लेयर अफ द म्याच धरानकी गोलरक्षक सिमा आले मगर भइन् । उनलाई आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले नगद प्रदान गरे । जितसँगै धरानले कम्तिमा ५१ हजार सुरक्षित गरेको छ ।

दोस्रो संस्करणको प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

Post Comments