News एनएसएलको नवआगन्तुक टोली झापाले पायो नाडाको साथ
गोलनेपाल

काठमाडौं । चर्चित फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण खेल्ने तयारीमा रहेको झापा एफसीले त्यसको तयारी पनि तीव्र रुपमा गरिरहेको छ ।

यसैबीच खेलाडीहरुको क्षमता र फिटनेस लगायतका महत्वपूर्ण पक्षमा निकै सजग देखिएको क्लबले नाडा परफर्मेन्स एण्ड रिहेबिलिटेशन सेन्टर, काठमाडौंसँग क्षमता अभिबृद्धिका लागि नयाँ सम्झौता गरेको छ ।

सम्झौता कार्यक्रममा झापा एफसीका महासचिव तथा प्रवक्ता सुजन गौतम र नाडाका सिइओ विवेक विक्रान्त अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर र आदान–प्रदान गरे । सो अवसरमा क्लबका उपाध्यक्ष यम बस्नेत र सिइओ बिक्रम थापाको पनि उपस्थिति रहेको थियो ।

सम्झौतापछि क्लबका महासचिव गौतम उत्साहित देखिए । “फुटबल खेलाडीहरुसँगको हाम्रो मुख्य लगानी यहि हो । हाम्रो मुख्य उद्देश्य नै खेलाडी शतप्रतिशत फिट रहुन भन्ने रहेको छ । हामी उपाधि जित्न र इतिहास रच्न चाहन्छौं” गौतमले भने ।

सोही अवसरमा नाडाका सिइओ विवेक विक्रान्त अधिकारीले पनि मोफसलमा आफ्नो फरक पहिचान बनाएर सुपर लिग खेल्ने ऐतिहासिक तयारीमा रहेको क्लबसँग सहकार्य गर्न पाउँदा आफूहरु पनि निकै उत्साहित रहेको प्रतिक्रिया दिए ।

स्मरण रहोस, यस बर्ष हुने नेपाल सुपर लिगको दोस्रो संस्करण अर्को महिनादेखि शुरु हुने कार्यक्रम छ । साथै यसपटक लिगमा थप तीन टोलीहरु थपिएका छन् । जसमा झापासहित बिरगंज युनाइटेड र स्र्पौटिङ इलाम डि मेची रहेका छन् ।

 

Post Comments