News नेपाल पुलिस स्कुल फुटबल एकेडेमीको उद्‍घाटन
गोलनेपाल

नेपाल प्रहरी विद्यालय साँगा काभ्रेपलाञ्चोकमा नेपाल पुलिस स्कुल फुटबल एकेडेमीको सोमबार आयोजित एक समारोहबीच उद्‍घाटन भएको छ । 

नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही र अखिल नेपाल फुटवल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले संयुक्त रुपमा रेफ्रीलाई फुटवल हस्तान्तरण गरी उक्त एकेडेमीको उद्‍घाटन गर्नुभएको हो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक शाही र एन्फाका अध्यक्ष शेर्पाले संयुक्त रुपमा खेलाडीहरूलाई खेल सामग्री वितरण समेत गर्नुभयो । 

उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक शाहीले विद्यालयलाई अझ स्तरवृद्धि गर्नुका साथै  अध्ययनरत विद्यार्थीहरुलाई सक्षम नागरिक बनाउन शिक्षा, स्वास्थ्य एवम् संस्कृतिलाई पनि सँगसँगै लैजान विद्यालयका समादेशक, प्राचार्य, शिक्षक लगायत विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । फुटबल एकेडेमीको स्थापनामा एन्फाको भूमिकाबारे चर्चा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक शाहीले यस कार्यले स्कुलको स्तरवृद्धिमा थप कोसेढुंगा थपिएको उल्लेख गर्नुभयो । साथै एकेडेमीमा आवद्ध खेलाडीहरु मात्रै नभई विद्यालयमा अध्ययनरत अन्य दक्ष खेलाडी उत्पादनमा स्कुल लागीरहने उहाँले बताउनुभयो ।  

उक्त अवसरमा एन्फाका अध्यक्ष शेर्पाले नेपाल प्रहरी विद्यालयमा फुटबल एकेडेमीको स्थापनाले नेपाली फुटबलमा नयाँ आयाम थपिएको महसुस भएको चर्चा गर्दै नेपाली फुटबलका राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि एकेडेमीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । आगामी शैक्षिक वर्षमा महिला एकेडेमी संचालनको योजना रहेकोले नेपाल प्रहरीसँग आवश्यक सहकार्य गर्ने र योजनालाई आर्थिक, भौतिक र प्राविधिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै विभिन्न उमेर समूहको स्कुल स्तरीय लिग संचालन गर्ने तयारी रहेको जानकारी उहाँले दिनुभयो । 

समारोहमा काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्दै अखिल नेपाल फुटवल संघले समग्रमा नेपालमा फुटबलको विकासको लागि विद्यालय एवम् स्थानीय तहमा विभिन्न उमेर समूहमा निर्वाह गरेको भूमिकाको चर्चा गर्नुभयो ।  

नेपाल पुलिस स्कुल फुटबल एकेडेमीका अध्यक्ष प्रहरी उपरीक्षक हेम कुमार थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

एकेडेमी उद्‍घाटनको अवसरमा एकेडेमीमा आवद्ध खेलाडीहरूद्वारा प्रदर्शनी खेल तथा विद्यार्थीहरुद्वारा नृत्य समेत प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, एन्फाका पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, सञ्चारकर्मी, शिक्षक-शिक्षिका एवम् प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

नेपाल पुलिस स्कुल फुटबल एकेडेमी स्थापनार्थ नेपाल पुलिस स्कुलको तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  र एन्फाको तर्फबाट एन्फाका अध्यक्षबीच २०७७ माघ ४ गते सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । 

सम्झौता बमोजिम नेपाल प्रहरी, एन्फा र विद्यालयबाट प्रतिनिधित्व गर्ने गरी नेपाल पुलिस स्कुल फुटवल एकेडेमी सञ्चालक समिति गठन, छनौट समिति गठन र यसै शैक्षिक सत्रबाट सो विद्यालयमा अध्ययन तथा फुटबल एकेडेमीमा आवद्ध रहने विद्यार्थीलाई छनौट गरिएको छ । जसमा एन्फाको पूर्ण छात्रवृत्तिमा ७ जना, अभिभावकले शुल्क तिर्ने गरी ७ जना, नेपाल पुलिस स्कुलहरुमा अध्ययनरत मध्येबाट ७ जना र अन्य ३ जना गरी जम्मा २४ जना उत्कृष्ट खेलाडी छनौट गरिएको सो कार्यक्रममा जानकारी  गराइयो । 

Post Comments