
बुटवल । हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन गाउँपालिका ४, डियो बजारको आयोजनामा हुँदै आइरहेको कञ्चन गोल्डकप नकआउट फुटबल प्रतियोगिता यहि फागुन १३ गतेदेखि शुरु हुने भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, रुपन्देहीको सह–आयोजनामा हुन गईरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो । कञ्चन गाउँपालिका ४ डियो बजार स्थित आयोजक कै खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।
रुपन्देहीसहित कपिलवस्तु र नवलपरासीका गरी कुल ८ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको उ्दघाटन खेलमा आयोजक कञ्चन–११ र एन्फा एकेडमी, बुटवल बीच प्रतिस्पर्धा हुने प्रचार प्रसार संयोजक टिका थापा मगरले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुलाई पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । फाइनल खेल फागुन २१ गतेका दिन हुनेछ ।