News डाँगीहाटलाई स्तब्ध पार्दै फिदिम सेमफिाइनलमा
रमेश समदर्शी

इलाम । उपाधिको दाबेदार मानिएको मोरङको डाँगीहाट एफसी प्रथम देउमाई गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । अन्तिम क्वाटरफाइनलमा फिदिम स्पोर्टिङ क्लबसँग २–१ गोलअन्तरले पराजित भएपछि डाँगीहाट घर फर्किएको हो ।

१–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फिदिमले उत्कृष्ट जित निकाल्यो । खेलमा फिदिम अन्तिम १५ मिनेट १० खेलाडीमा सीमित बनेको थियो । खेलमा डाँगीहाटका प्रवेश कटुवालले गोल गरेर अग्रता दिलाएका दिए । पहिलो हाफको १७औँ मिनेटमा पाएको फ्रिकिकबाट उनले उत्कृष्ट गोल गरेका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको फिदिम दोस्रो हाफमा लयमा फर्कियो । दोस्रो हाफको ५औँ मिनेटमा फिदिमका कप्तान गजेन्द्र राईले पेनाल्टीमार्फत गोल गरेर बराबरी गरेका थिए । डाँगीहाटका खेलाडीले बक्स भित्र ह्याण्ड गरेपछि फिदिमलाई पेनाल्टीको अवसर मिलेको थियो । यसैबीच, दोहोरो पहेँलो कार्डपछि रातो कार्ड पाउँदै फिदिमका मनिष क्षेत्री मैदान छाड्न बाध्य बने ।

दोस्रो हाफको १५औँ मिनेटमा फिदिम १० खेलाडीमा समेटिएको थियो । रोमाञ्चक खेलमा गजेन्द्र राईले व्यक्तिगत दोस्रो गोल गर्दै सेमिफाइनल स्थान सुरक्षित गरे । दोस्रो हाफको २२औँ मिनेटमा पाएको कर्नर प्रहारमा उनले हेडरमार्फत गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

युनाइटेड देउमाई युथ क्लब मंगलबारेको आयोजनामा जारी प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगिता अन्तरगत फागुन ११ गते बुधबारको पहिलो सेमिफानल खेल हेलिबोध एफसी र ओएसिस एफसी बीच हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख र ट्रफी पाउनेछ । फाइनल खेल भने यहि फागुन १४ गतेका दिन हुनेछ ।

Post Comments