News जिल्ला फुटबल संघहरुको चुनाव स्थगित
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका जिल्ला फुटबल संघहरुको चुनाव तत्कालका लागि स्थगित गरेको छ ।

यहि फागुन १० गते मंगलबार बसेको एन्फाको १७औं कार्यसमितिको बैठकले प्राविधिक कारण जनाउँदै अर्को सूचना जारी नहुँदासम्मका लागि जिल्ला फुटबल संघहरुको चुनाव स्थगित गरिएको जनाएको छ । स्मरण रहोस, यसअघि एन्फाको बैठकले आफू मातहतका जिल्ला फुटबल संघहरुको चुनाव यहि फागुन १५ देखि ३० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको थियो ।

त्यस्तै एन्फाको विशेष साधारणसभाको मिति पनि अनिश्चित बनेको छ । एन्फाको निर्वाचन निर्देशिका मस्यौदा फिफा र एएफसीबाट अनुमोदन भए पश्चात लागु गर्न आवश्यक छलफल भईरहेको र केही बुँदाहरुमा संशोधन तथा निर्देशन प्राप्त भएकोले उक्त मस्यौदामा थप संशोधन र छलफल गरी अन्तिम पूर्ण मस्यौदा प्राप्त भए पश्चात आपतकालिन बैठक बसी पारीत गर्ने निर्णय भएको एन्फाले जनाएको छ ।

त्यसैगरी एन्फाको निर्वाचन निर्देशिकाको पूर्ण मस्यौदा फिफा र एएफसीबाट अनुमोदन भए पश्चात आपतकालिन बैठक बसी एन्फाको विशेष साधारणसभा बैठकको मिति तय गरिने पनि एन्फाको बैठकले निर्णय गरेको छ ।

हेर्नुहोस पत्र ।

 

Post Comments