News चौथो मेयर कप शुरु, वार्ड १ को विजयी शुरुवात
गोलनेपाल

दुहबी । यहाँ शुरु चौथो मेयर कप वार्ड स्तरीय नकआउट फुटबल प्रतियोगितामा वार्ड नम्बर १ ले विजयी शुरुवात गरेको छ । दुहबी स्थित सरस्वती माविको खेलमैदानमा भएको उद्घाटन खेलमा वार्ड नम्बर १ ले वार्ड नम्बर ८ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

खेलको ११औं मिनटमा एडी कमालले गरेको एक मात्र गोल वार्ड नम्बर १ लाई जित दिलाउन प्रर्याप्त बन्यो । यो जितसँगै वार्ड नम्बर १ प्रतियोगिताको क्वाटरफाँइनलमा समेत प्रवेश गरेको छ । खेलमा वार्ड नम्बर १ का गोलरक्षक मोहम्मद समिर म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत फागुन १२ गते बिहीबारको खेल वार्ड नम्बर ३ र वार्ड नम्बर ११ बीच हुने आयोजकले जनाएको छ । त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच दुहबी नगरपालिकाका मेयर वेद नारायण गच्छदारले गरेका थिए ।

दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, सुनसरीको संयोजनमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित १,०१,१११ हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल भने फागुन २२ गतेका दिन हुने आयोजकले जनाएको छ ।

Post Comments