News भेनस देउमाई गोल्डकपको फाइनलमा
रमेश समदर्शी

इलाम । भेनस एफसी, फिक्कल यहाँ जारी प्रथम देउमाई गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको छ ।

भानुभक्त माविको छात्रावास खेलमैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनलमा भेनसले फिदिम स्र्पोटिङ क्लबलाई टाईब्रेकरमा २–० ले हराउँदै फाइनलमा हेलिबोध एफसीसँगको भेट पक्का गरेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । थपिएको अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो ।

खेल सुरु भएको दोस्रो मिनेटमै भेनसका लागि सुसन कार्कीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, फिदिमका लागि १६औँ मिनेटमा पाएको पेनाल्टीबाट खेलमा फर्किएको थियो । जसमा कप्तान गजेन्द्र राईले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच भेनसका गोलकिपर विवेक मगर घोषित भए । उनले नगद २ हजार पाए । उनले टाइब्रेकरमा फिदिमको २ प्रहार रोकेका थिए ।

युनाइटेड देउमाई युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल फागुन १४ गते शनिबार हुनेछ ।

 

Post Comments