News सातदोबाटोको सुखद समापन, शेर्पा र फ्रेण्डसको बराबरी
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणको खेलतर्फ बिहीबार सातदोबाटो युथ क्लबले जितका साथ लिगको सुखद समापन गरेको छ । आफ्नो अन्तिम खेलमा सातदोबाटोले यसअघि नै रेलिगेशनमा परिसकेको च्यासल युथ क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको सातौं मिनटमा अजयी मार्टिन्सले गरेको एक मात्र गोल सातदोबाटोलाई जित दिलाउन प्रर्याप्त बन्यो । निर्णायक गोलकर्ता मार्टिन्स म्यान अफ द म्याच समेत चुनिए ।

यो जितपछि १३ खेलबाट २१ अंक जोडेको सातदोबाटो तेस्रो स्थानमा छ । पराजित च्यासल भने ६ अंकका साथ पुछारमा रहेर लिगको समापन गर्न बाध्य बनेको छ ।

बिहीबार नै दशरथ रंगशालामा भएको अर्को खेलमा हिमालयन शेर्पा क्लब र फ्रेण्डस क्लबले १–१ को बराबरी खेल्दै लिगको समापन गरेका छन् । खेलको ७३औं मिनटमा दिवश उराउको आत्मघाती गोलबाट फ्रेण्डसले खेलमा अग्रता लिएको थियो । तर ८९औं मिनटमा विसन गुरुङले शेर्पाका लागि बराबरी गोल फर्काएका थिए ।

यो नतिजापछि १३ खेलबाट १४ अंक जोडेको शेर्पा लिगतालिकाको नवौं स्थानमा छ । उता फ्रेण्डस भने ११ अंकका साथ १२औं स्थानमा रहेर लिगको समापन गरेको छ ।

Post Comments