News डोनाको गोलले जोगियो थ्रीस्टार
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आफ्नो अन्तिम खेलमा रुस्लान थ्रीस्टार क्लबले ब्रीगेड ब्वाईज क्लब (बीबीसी) सँग १–१ को बराबरी खेलेर लिगको समापन गर्नुपरेको छ ।

एक समय हारको संघारमा समेत पुगेको थ्रीस्टारलाई डोना थापाले जोगाएका थिए । एन्फा कम्प्लेक्समा सम्पन्न खेलको ५६औं मिनटमा पासाङ तामाङको गोलबाट बीबीसीले खेलमा अग्रता लिएको थियो । तर खेलको अन्तिमतिर इन्जुरी समयमा डोनाले गोल गर्दै थ्रीस्टारलाई जोगाएका थिए ।

यो नतिजापछि १३ खेलबाट १९ अंक जोडेको थ्रीस्टारले लिगतालिकाको छैठौं स्थानमा रहेर लिगको समापन गर्ने पक्का भएको छ । त्यस्तै यसअघि नै रेलिगेशनमा परिसकेको बीबीसीले ८ अंकका १३औं स्थानमा रहेर लिगको समापन गरेको छ ।

जावलाखेल र संकटाको पनि बराबरी

त्यस्तै दशरथ रंगशालामा भएको अर्को खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबले पनि १–१ को बराबरी खेल्दै लिगको समापन गरेका छन् । खेलको १४औं मिनटमा सुनिल खड्काको गोलबाट अग्रता लिएर पनि जावलाखेलले त्यसलाई जोगाउन सकेन । उता ६१औं मिनटमा उत्तम राईले संकटाका लागि बराबरी गोल फर्काएका थिए ।

यो नतिजापछि १३ खेलबाट १४ अंक जोडेको जावलाखेल लिगतालिकाको नवौं स्थानमा पुगेको छ । उता संकटा भने १६ अंकका साथ लिगतालिकाको सातौं स्थानमा यथावत छ ।

Post Comments