News कठिन जितका साथ संकटा क्वाटरफाइनलमा
रमेश समदर्शी

बिर्तामोड । संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए ।

खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रामक खेल खेलेका थिए । पुलिसले गरेका केही आकर्षक आक्रमण संकटाका गोलरक्षक रोहित कार्कीले उत्कृष्ट बचाउ गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा दुवै टोली आक्रामक बने पनि स्कोर भने संकटाले मात्र गर्न सफल भयो ।

खेलको २४औँ मिनेटमा पुलिसका सन्तोष हेमरमको पासमा रवि पासवानको हेडर पोस्ट नजिकैबाट बाहिरियो । २६औँ मिनेटमा सौजन राईको फ्रिकिक संकटाका गोलरक्षक रोहित कार्कीले विफल तुल्याए ।

५०औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले ‘वान भर्सेस वान’मा गोल गर्न नसक्दा अग्रता बनाउन सकेन । ५४औँ मिनेटमा कप्तान राईले प्रहार गरेको बल आफ्नै खुटामा ठोक्किएर पोस्ट नजिकैबाट बाहिरियो ।

त्यस्तै, १६औँ मिनेटमा संकटाका लक्ष्मण रुचालको फ्रिकिक पुलिसका गोलरक्षक संजित श्रेष्ठले विफल बनाए । २२औँ मिनेटमा संकटाका उत्तम राईले डिबक्स एरियाबाट गरेको प्रहार देब्रे बार नजिकैबाट बाहिरियो । संकटाले खेलमा एक दर्जनभन्दा बढी प्रहारलाई गोलमा सदुपयोग गर्न सकेन ।

आइतबारको खेलको प्लेयर अफ द म्याच विजेता टिम संकटाका फोडे फोफोना घोषित भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे । प्लेयर अफ द म्याचको सौजन्य युवा व्यवसायी श्याम प्रसाईंले प्रतियोगिताभर गरेका छन् । फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले ६ लाख पाँच हजारमा चित्त बुझाउनु पर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, स्ट्राइकररले नगद २१ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । पाँचौँ संस्करणको झापा गोल्डकपको मुख्य प्रायोजक चौधरी ग्रुपको नेपाल आइस हो ।

प्रतियोगिताअन्तर्गत सोमबारको क्वाटरफाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताए । एपिएफ सोझै क्वाटरफाइनल खेल्न लागेको हो । सातदोबाटोले जावलाखेललाई हराउँदै एपीएफसँग भेट पक्का गरेको हो ।

Post Comments