News गौतम बुद्ध सेमिफाइनलमा प्रवेश
सुरज राना मगर

नर्सही । गौतम बुद्ध सिद्धार्थ क्लब, बर्दघाट यहाँ जारी दोस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको तेस्रो क्वाटरफाइनलतर्फ गौतम बुद्धले पृथ्वीवस्ती युवा क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

सुस्ता गाउँपालिका ४, नर्सही स्थित स्थानीय खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा गौतम बुद्धका लागि पहिलो हाफको २०औं मिनटमा कप्तान रिजन गुरुङले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

विपक्षी खेलाडीले बक्स भित्र ह्याण्डबल गरेपछि गौतम बुद्धले पेनाल्टीको अवसर पाएको थियो । गुरुङले त्यहि पेनाल्टी प्रहार गर्दा विपक्षी गोलरक्षकले जोगाए तापनि रिबाउण्ड भई फर्किएको सोही बललाई उनले गोलपोष्टको जाली चुमाएका थिए ।

निर्णायक गोलकर्ता गुरुङ नै खेलको म्यान अफ द म्याच समेत चुनिए । उनलाई नवलपरासी जिल्ला खेलकुद विकास समितिका सदस्य सुरेन्द्र थापाले ट्रफीसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत फागुन २३ गते सोमबारको अन्तिम क्वाटरफाइनल खेल अभिषेक चर्च, रजहर र बि.पी. स्मृति युवा क्लब, माकरबीच हुने प्रतियोगिता संयोजक धिरज गुरुङले जानकारी दिए ।

सुस्ता गाउँपालिका, नवलपरासीको आयोजना तथा एकता युवा क्लब र जरलैया युवा क्लबको संयुक्त व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन २८ गतेका दिन हुनेछ ।

Post Comments