News सातदोबाटो पाँचौँ झापा गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

बिर्तामोड । सातदोबाटो युथ क्लब पाँचौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २-१ को गोलअन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो । 

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा सातदोबाटोको जितका लागि खेलको ८२औँ मिनेटमा सुशील राईले गोल गरे । लगत्तै ८५औँ मिनेटमा निरज चौधरीले सातदोबाटोको अग्रतालाई दोब्बर बनाए । 

तर, गोलपछि सम्हालिन नसक्दा एपिएफले गोल फर्कायो । एपिएफका लागि खेलको इन्जुरी समयमा दिपेश धिमालले सान्त्वना गोल फर्काए । खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो । खेलको छैटौँ मिनेटमा एपिएफका युवराज खड्काले डिबक्सभित्र पाएको बल प्रहार गर्न सकेनन् । १३औँ मिनेटमा सातदोबाटोका प्रशान्त अवस्थीको कर्नर प्रहारमा आकाश बुढा मगरले गरेको क्रसर एपिएफका गोलरक्षक युया कुरियामाले बचाउ गरे । 

२१औँ मिनेटमा एपिएफका अर्मोड बेडमले डिबक्सभित्रबाट गरेको प्रहार सातदोबाटोका मार्टिन सिलोले बचाउ गरे । ४६औँ मिनेटमा सातदोबाटोका सुशील राईले गरेको प्रहार विपक्षी गोलरक्षकले सहजै समाते । ५५औँ मिनेटमा एपिएफका अर्मोड बेडमको क्रस कप्तान नवीन लामाले मिस गरे । ७४औँ मिनेटमा एपिएफका युवराज खड्काको हेडर पोस्ट नजिकैबाट बाहिरियो । 

जीतसँगै सातदोबाटो क्लब पाँचौँ संस्करणको नेपाल आइस झापा गोल्डकपको अन्तिम चारमा पुगेको छ । सातदोबाटोको जीतका लागि पहिलो गोल गर्ने सुशील राई खेलको म्यान अफ द म्याच भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे । 

मंगलबारको अर्को क्वाटरफाइनल खेल संकटा क्लब र थ्री स्टर क्लबबीच हुने आयोजक समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले बताए । संकटाले नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने थ्रीस्टार सोझै क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

१० टिम सहभागी गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार पाउँदा उपविजेताले नगद ६ लाख ५ हजारमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments