News सात गोलको ‘थ्रीलर’ जितका साथ अभिषेक चर्च सेमिफाइनलमा
सुरज राना मगर

नर्सही । रोमाञ्चक जित हात पार्दै अभिषेक चर्च, रजहर यहाँ जारी दोस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सुस्ता ४, नर्सही स्थित स्थानीय खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनलमा अभिषेक चर्चले बिपी स्मृति युवा क्लब, माकरलाई ४–३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलमा शुरुवाती अग्रता भने बिपीले लिएको थियो । खेलको नवौं मिनटमै मनिष चौधरीको गोलबाट अग्रता बनाएको बिपीले त्यसलाई धेरैबेर कायम राख्न सकेन । १४औं मिनटमा अभिषेक चर्चका लागि सञ्जोग महर्जनले बराबरी गोल फर्काए ।

पहिलो हाफ कै २९औं मिनटमा रोहित थारुको गोलबाट बिपीले फेरि खेलमा अग्रता लियो । तर त्यो अग्रता पनि केहीबेर मै गुमाउन पुग्यो । ३४औं मिनटमा बिकास लामाले बराबरी गोल फर्काए ।

लगतै ३९औं मिनटमा अभिषेक चर्चले पेनाल्टीको अवसर पायो । जसलाई बिकास लामाले नै कुनै गल्ती नगरी गोलमा परिणत गरे । त्यस्तै अभिषेक चर्चका लागि ६८औं मिनटमा सञ्जोग महर्जनले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै टोलीको जित पनि सुनिश्चित गरे ।

चौथो गोल खाएको दुई मिनट लगतै सुदिप विश्वकर्माले बिपीका लागि तेस्रो गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् । खेलमा अभिषेक चर्चका सञ्जोग मर्हजन म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तरगत फागुन २४ गते आराम दिइएको खेल संयोजक धिरज गुरुङले बताए । उनका अनुसार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन २५ गतेका दिन गौतम बुद्ध सिद्धार्थ क्लब, बर्दघाट र नव युवा क्लब, सुर्यनगरबीच हुनेछ ।

सुस्ता गाउँपालिका, नवलपरासीको आयोजना तथा एकता युवा क्लब र जरलैया युवा क्लब, नर्सही–४ को व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन २८ गतेका दिन हुनेछ ।

Post Comments