News झापामा आर्मी बन्यो च्याम्पियन
रमेश समदर्शी

बिर्तामोड । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा ११ लाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको छ । 

जीतसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापाले नगद ६ लाख पाँच हजार रुपैयाँमा चित्त बुझाएको छ । आर्मीले योसँगै चौथोपटक झापा गोल्डकपको उपाधि हात पारेको हो । 

पाँचौ पटक झापा गोल्डकपको फाइनलमा पुगेको झापा ११ ले कुनै पनि चमत्कार गर्न सकेन र उपविजेतामा फेरि चित्त बुझाउन बाध्य बनेको छ । यसपटक विशाल राई बीको कप्तानीमा झापा ११ ले स्थान बनाएको थियो । 

आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेका थिए । फाइनल खेलको १८औँ मिनेटमा सुमन अर्यालको पासमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । अर्को गोल २१औँ मिनेटमा जर्जप्रिन्स कार्कीले गरेका थिए । मैदानको मध्यभागबाट पेनाल्टीएरियामा पाएको बललाई गोलरक्षक दिप कार्की अघि बढेको मौकामा गोल गरे ।

 ३ मिनेटभित्र २ गोल खाएको झापाले त्यसपछि खेल नियन्त्रणमा लियो । उसले दोस्रो गोल खाएको ३ मिनेटमा एक गोल फर्कायो । झापाका लागि विमल घर्तीमगरले हेडमार्फत गोल गरे । शिवे उल्रिचको क्रसमा उनले गोल गर्दै आर्मीसँग गोलअन्तर घटाए । 

फाइनल खेलको म्यान अफ द म्याच टेकबहादुर बुढाथोकी भए । उनले ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाए । पुरस्कारको प्रायोजन युवा व्यवसायी श्याम प्रसाईंले गरेका हुन् ।

प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ झापाका डिफेन्डर देबेन्द्र तामाङ भए । उनले यामाहा कम्पनीको एक थान मोटरसाइकल पाए । गोल्डकपको सर्वाधिक गोलकर्ता विमल घर्तीमगर हुँदै नगद २५ हजार प्राप्त गरे । उनले प्रतियोगितामा खेलेका तीन खेलमा पाँच गोल गरेका थिए । 

प्रतियोगिताको बेस्ट डिफेन्डर झापाका मनोज राई, बेस्ट मिड फिल्डर झापाकै आन्दे्रस निया, बेस्ट किपर आर्मीका विकेश कुथु र वेष्ट कोच आर्मीका नवीन न्यौपाने घोषित भए । उनीहरुले जनही २१ हजार रुपैयाँ पाए । फागुन २१ गतेदेखि सुरु भएको झापा गोल्डकपमा भारतका दुई टिम, घरेलु टोली झापा ११ र सातवटा ए डिभिजन क्लबसहित दश क्लबको सहभागिता थियो । 

झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले झापाको सानका रुपमा रहेको झापा गोल्डकप आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले प्रतियोगिताबाट झण्डै ५० लाख रुपैयाँ बचत भएको आयव्यय सार्वजनिक गरे । फाग्न २१ गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको प्रतियोगिता कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले समापन गरे ।

Post Comments