News ग्रीनल्याण्ड नकआउट चरणमा, ओम शान्तिको सम्भावना कायमै
गोलनेपाल

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा तेस्रो चरणका खेलहरु सुरु भएका छन् ।

लिग अन्तर्गत अमर मावि पटिहानीको मैदानमा भएको समूह ए को खेलमा ओम शान्ति एकेडेमी विजयी भएको छ । ओम शान्तिले ढड्डाघारी माविविरुद्ध ३-१ को पुनरागमन जित हात पारेको हो । ओम शान्तिको जितमा सुविज्ञ लम्साल, दिक्षित अर्याल र आदित्य पौडेलले गोल गरे । ढड्डाघारीका साजन मगरले गोल गरे ।

खेलमा अग्रता भने ढड्डाघारीले लिएको थियो । खेलको १७ औं मिनेटमा साजनको गोलमा ढड्डाघारीले अग्रता लिएको थियो । तर उसको अग्रता पहिलो हाफसम्म पनि टिक्न सकेन । पहिलो हाफको अतिरिक्त समयमा सुविज्ञले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा ओम शान्तिले दुई गोल थयो । ३२ औं मिनेटमा दिक्षितले गोल गरेपछि ओम शान्तिले खेलमा अग्रता लियो । ५१ औं मिनेटमा आदित्यले गोल गरेपछि ओम शान्तिले ३-१ को जित दर्ता गर्यो । ओम शान्तिका सुविज्ञ म्यान अफ दि म्याच भए ।

यो जितपछि ओम शान्ति तीन खेलबाट पाँच अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको नकआउट सम्भावना कायमै रहेको छ । शिर्ष स्थानको स्टेप बाइ स्टेप र तेस्रो स्थानको गौरीगन्जको नतिजाले ओम शान्तिको भविष्य निर्धारण गर्नेछ । यी दुईको खेलमा कुनै एक टिम पराजित भएमा ओम शान्ति दोस्रोमा रहदै नकआउटमा प्रवेश गर्नेछ । बराबरीमा सकिएको खण्डमा भने गोल आधारमा तीन मध्य दुई टोली नकआउटमा पुग्नेछ । अंकबिहिन ढड्डाघारी लिग चरणबाटै बाहिरिएको छ ।

उता शारदानगरमा भएको समूह बी को खेलमा ग्रीनल्याण्ड पब्लिक स्कुलले फराकिलो जित दर्ता गरेको छ । उसले पारिजात ईंग्लिस बोर्डिङ स्कुललाई १ का विरुद्ध ६ गोलले पराजित गरेको हो ।

ग्रीनल्याण्डको जितमा बादल सुब्बा र प्रज्वल लम्सालले ह्याट्रिक गरे । पारिजातका सेवक घिमिरे क्षेत्रीले एक गोल फर्काए । बादलले खेलको तेस्रो, २८ औं र ४२ औं मिनेटमा गोल गरे । प्रज्वलले ३२ औं, ३३ औं र ६१ औं मिनेटमा गोल गरे । उनी नै म्यान अफ दि म्याच भए ।

यो जितपछि ग्रीनल्याण्ड समूह बी मा तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । उसको तीन खेलमा ६ अंक भएको छ । यससँगै ग्रीनल्याण्डले प्रतियोगिताको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । एक खेल कम खेलेको आदिकवि भानु मावि समान अंकका साथ दोस्रो स्थानमा झरेको छ । उसले लिग चरणको अन्तिम खेलमा सिद्धार्थ माविको सामना गर्नेछ । उक्त खेलको समूह विजेताको टुङ्गो लगाउनेछ ।

यस्तै कृष्णपुरमा भएको समूह सी को खेलमा ईडेन गार्डेन ईंग्लिस बोर्डिङ स्कुल विजयी भएको छ । उसले जनप्रिय ईंग्लिस बोर्डिङ स्कुलविरुद्ध २-१ को पुनरागम जित निकालेको हो । ईडेन गार्डेनको जितमा कप्तान श्रीराम रानाभाट र रुपेश घलेले गोल गरे । जनप्रियका युदिन थापा मगरले गोल गरे ।

खेलमा अग्रता भने जनप्रियले लिएको थियो । खेलको दोस्रो मिनेटमा नै युदिनको गोलमा जनप्रियले अग्रता लिएको थियो । तर उसको अग्रता धेरै समय टिकेन । आठौं मिनेटमा श्रीरामले ईडेन गार्डेनका लागि बराबरी गोल फर्काए । ५७ औं मिनेटमा ईडेन गार्डेनले पेनाल्टी पायो । प्राप्त अवसरलाई रुपेशले गोलमा पतिणत गराएपछि ईडेन गार्डेन २-१ ले विजयी भयो । ईडेन गार्डेनका कप्तान श्रीराम म्यान अफ दि म्याच भए ।

यो जितपछि ईडेन गार्डेनको तीन खेलमा चार अंक भएको छ । ईडेन गार्डेन तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानको लक्ष्मी माविसँग समान अंक भए पनि गोल आधारमा पछि पर्दै ईडेन गार्डेन प्रतियोगिताबाट बाहिरिएको छ । जनप्रियले भने अंकबिहिन हुँदै यात्रा टुङ्ग्याएको छ ।

लिगमा मंगलबार थप तीन खेल हुनेछ । मंगलबार पटिहानीमा समूह ए का स्टेप बाई स्टेप र गौरीगन्ज मावि भिड्नेछन् । यस्तै शारदानगरमा समूह बी का सिद्धार्थ मावि र आदिकवि भानु मावि भिड्नेछन् भने कृष्णपुरमा समूह सी का विश्वप्रकाश मावि र लक्ष्मी माविबीच प्रतिस्पर्धा हुनेछ ।

Post Comments