News आयोजक भोजपुर फुटबल संघको विजयी शुरुवात
गोलनेपाल

भोजपुर । आयोजक भोजपुर जिल्ला फुटबल संघले मंगलबारदेखि शुरु पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

आयोजक भोजपुरले उद्घाटन खेलमा सगरमाथा युथ क्लब, मोरङलाई टाईब्रेकरमा ५–४ ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न समेत सफल भयो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

खेलको १६औं मिनटमा निशान खड्काको गोलबाट सगरमाथाले खेलमा अग्रता लिएको थियो । तर २२औं मिनटमा दिपक आलेले भोजपुरका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।

५२औं मिनटमा अशोक खवासको गोलबाट सगरमाथाले दोस्रोपटक खेलमा अग्रता बनायो । तर त्यो अग्रता पनि जोगाउन सकेन । ६५औं मिनटमा सन्तोष तामाङले भोजपुरका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा भने दुर्भाग्यपुर्ण रुपमा सगरमाथा निराश बन्न पुग्यो । खेलमा भोजपुरका प्रबिन राई म्यान अफ द म्याच घोषित भए । उनलाई प्रमुख अतिथी भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले नगद ३ हजार र ट्रफीसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत चैत्र २ गते बुधबारको दोस्रो क्वाटरफाइनल खेल राष्ट्रिय जागृति क्लब, सुनसरी र भगवती स्पोर्टस क्लब, खोटाङबीच हुने आयोजकले जनाएको छ ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र ६ गतेका दिन हुनेछ ।

 

Post Comments