News यानिकको दुई गोलले गोर्खा ब्वाईज सेमिफाइनलमा
गोलनेपाल

भोजपुर । गोर्खा ब्वाईज स्पोर्टस क्लब, रुपन्देही यहाँ जारी अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा बसाहा क्लब, उदयपुरलाई ३–१ ले हराउँदै गोर्खा ब्वाईजले अन्तिम चारमा स्थान बनाएको हो । गोर्खा ब्वाईजका लागि ३६औं मिनटमा यानिकले पहिलो गोल गरेका थिए ।

यद्यपि ४७औं मिनटमा प्रदिप कार्कीले बसाहाका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । त्यसपछि जित निकाल्न गोर्खा ब्वाईजलाई अन्तिम समयसम्म संघर्ष गर्नुपर्यो ।

खेलको ८०औं मिनटमा यानिकले व्यक्तिगत दोस्रो गोल गर्दै गोर्खा ब्वाईजलाई खेलमा फेरि अग्रता दिलाए भने त्यसको एक मिनट लगतै सुनिल खड्काले तेस्रो गोल गर्दै गोर्खा ब्वाईजको जित सुनिश्चित गरे ।

खेलमा गोर्खा ब्वाईजका यानिक म्यान अफ द म्याच घोषित भए । उनलाई विशेष अतिथीद्वय जय बहादुर तामाङ र अशोक राईले संयुक्त रुपमा नगद ३५ सय र ट्रफीका साथ पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत चैत्र ४ गतेको अन्तिम क्वाटरफाइनल खेल आमुक्त परिवार, पश्चिम बंगाल, भारत र सताक्षीधाम स्पोर्टस क्लब, झापाबीच हुने आयोजकले जनाएको छ ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र ७ गतेका दिन हुनेछ ।

 

 

Post Comments