News आयोजकलाई हराउँदै गोर्खा ब्वाईज फाइनलमा
गोलनेपाल

भोजपुर । गोर्खा ब्वाईज स्पोर्टस क्लब, रुपन्देही यहाँ जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा गोर्खा ब्वाईजले आयोजक भोजपुर जिल्ला फुटबल संघलाई टाईब्रेकरमा ५–३ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको ५२औं मिनटमा यानिकको पेनाल्टी गोलबाट अग्रता बनाएको गोर्खा ब्वाईजले त्यसलाई अन्तिमतिर गुमाउन पुगेको थियो । ७८औं मिनटमा बिजय भुजेलले भोजपुरका लागि गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए । यद्यपि टाईब्रेकरमा गोर्खा ब्वाईजले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा गोर्खा ब्वाईजका एबोडे म्यान अफ द म्याच घोषित भए । उनलाई भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले नगद ३५ सय र ट्रफीका साथ पुरस्कृत गरे । प्रतियोगिता अन्तरगत चैत्र ६ गतेको दोस्रो सेमिफाइनल खेल आमुक्ता परिवार, पश्चिम बंगाल (भारत) र राष्ट्रिय जागृति क्लब, सुनसरी बीच हुने आयोजकले जनाएको छ ।

भोजपुर नगरपालिकाको मुख्य प्रायोजन रहेको तथा भोजपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र ७ गतेका दिन हुनेछ ।

 

 

Post Comments