News फर्साटिकर कप शुरु, भैरवको विजयी शुरुवात
सुरज राना मगर

फर्साटिकर । रुपन्देही कै चर्चित मध्ये एक फर्साटिकर कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । शुद्धोधन गाउँपालिका–४ स्थित फर्साटिकर उच्च माविको खेलमैदानमा भएको उद्घाटन खेलमा भैरव एफसी, नवलपरासीले विजयी शुरुवात समेत गर्यो ।

विजयी शुरुवात गर्ने क्रममा भैरवले आयोजक फर्साटिकर युवा क्लब (निलो) लाई ३–२ ले हरायो । खेलको चौथो मिनट मै बिमल रानाको गोलबाट फर्साटिकरले अग्रता बनाए पनि पहिलो हाफ मै त्यो अग्रता गुमाउन पुगेको थियो । ३०औं मिनटमा मनिष चौधरीले भैरवका लागि बराबरी गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको ५९औं मिनटमा सन्दिप रेग्मीले भैरवका लागि दोस्रो गोल गरे । त्यसको ६ मिनट लगतै खोमे चौधरीले तेस्रो गोल थपे जुन निर्णायक गोल पनि बन्यो । उता ७४औं मिनटमा फर्साटिकरका लागि अवतार थापाले दोस्रो गोल फर्काए तापनि टोलीलाई भने खेलमा फर्काउन सकेनन् ।

खेलमा भैरवका मनिष चौधरी म्यान अफ द म्याच घोषित भए । उनले नगद १,५५५ सय सहित ट्रफी हात पारे । यो जितसँगै भैरव प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत चैत्र १३ गते आइतबारको प्रिक्वाटरफाइनल खेल झरना स्पोर्टस क्लब र मुर्गिया एफसी बीच हुने आयोजकले जनाएको छ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द्र चौधरी, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार), आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुँवर लगायत अन्य अतिथीहरुले गरेका थिए ।

फर्साटिकर युवा क्लबको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख २५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए । फाइनल खेल यहि चेत्र २६ गतेका दिन हुनेछ ।

Post Comments