News भरौल गोल्डकपमा राजारानीको विजयी शुरुवात
गोलनेपाल

वराहक्षेत्र । शनिबारदेखि शुरु वाई–वाई पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकप फुटबल प्रतियोगितामा राजारानी फुटबल क्लब, धनकुटाले विजयी शुरुवात गरेको छ ।

भरौल खेलमैदानमा भएको उद्घाटन खेलमा राजारानीले कञ्चनजंगा एफसी, भारतलाई ४–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । राजारानीका लागि खेलको २७औं मिनटमा शिशिर लेखीले पहिलो गोल गरे । ३०औं मिनटमा मनिष थापाले त्यो अग्रता दोब्बर पारे ।

लगतै ३५औं मिनटमा शिशिर लेखीले व्यक्तिगत दोस्रो तथा टोलीका ल ागि तेस्रो गोल थप्दा मनिष थापाले नै ४७औं मिनटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै राजारानीको जित पक्का गरे ।

उता पराजित कञ्चनजंगाका लागि ८२औं मिनटमा पुजन सुब्बाले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा राजारानीका शिशिर लेखी म्यान अफ द म्याच घोषित भए । उनलाई विशेष अतिथी वराहक्षेत्र नगर खेलकुद समितिका अध्यक्ष आशाराम चौधरीले नगद ५ हजार र ट्रफी सहित पुरस्कृत गरे ।

यो जितसँगै राजारानी एफसी प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत चैत्र १३ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल विन्दवासिनी फुटबल क्लब, बिराटनगर र रेड हर्ष क्लब, इलामबीच हुने आयोजकले जनाएको छ ।

न्यू स्टार क्लब, वराहक्षेत्र, सुनसरीको आयोजना तथा वराहक्षेत्र नगरपालिकाको संयोजनमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत्र १९ गतेका दिन हुनेछ ।

 

Post Comments