News गोर्खालाई हराउँदै डि युनिटी क्वाटरफाइनलमा
सुरज राना मगर

भैरहवा । डि युनिटी क्लब, खैरेनी यहाँ जारी २८औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वाटरफाइनलतर्फ गोर्खा–११, नौतनवा (भारत) लाई २–० ले हराउँदै डि युनिटी अन्तिम आठमा प्रवेश गरेको हो ।

भैरहवा स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको खेलको दोस्रो मिनट मै मनोज गुरुङले डि युनिटीका लागि पहिलो गोल गरेका थिए । त्यस्तै २३औं मिनटमा मनिष तामाङले दोस्रो गोल गर्दै पहिलो हाफ मै टोलीको जित सुनिश्चित गरेका थिए ।

खेलमा डि युनिटीका गोलकर्ता मनोज गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले नगद १ हजार र ट्रफी समेत हात पारे । प्रतियोगिता अन्तरगत चैत्र १६ गतेको खेल सनराईज एफसी, नवलपरासी र क्षितिज एफसी, बुटवल बीच हुने आयोजकले जनाएको छ ।

माछापुच्छ्रे फुटबल क्लब, भैरहवाको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र २५ गतेका दिन हुनेछ ।

Post Comments