News कालिका स्पोर्टस भरौल गोल्डकपको अन्तिम चारमा
गोलनेपाल

बराहक्षेत्र । कालिका स्पोर्टस क्लब, चितवन यहाँ जारी वाईवाई पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा कालिका स्पोर्टसले आमुक्ता परिवार, पश्चिम बंगाल, भारतलाई टाईब्रेकरमा ३–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

भरौल खेलमैदानमा भएको निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिनु परेको थियो । खेलको ७०औं मिनटमा रुप बहादुर लामाको गोलबाट अग्रता बनाएको कालिका स्पोर्टसले त्यसलाई केहीबेर मै गुमाउन पुगेको थियो । ८०औं मिनटमा देवासिस राईले आमुक्ताका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

खेलमा कालिका स्पोर्टसका गोलरक्षक निरज चौधरी म्यान अफ द म्याच घोषित भए । उनलाई विशेष अतिथी खड्ग कार्कीले नगद ५ हजार र ट्रफीका साथ पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत चैत्र १६ गतेको पहिलो सेमिफाइनल खेल राजारानी फुटबल क्लब, धनकुटा र प्लानिङ ब्वाईज क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

न्यु स्टार क्लब, बराहक्षेत्र, सुनसरीको आयोजना तथा बराहक्षेत्र नगरपालिकाको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १९ गतेका दिन हुनेछ ।

Post Comments