News एपिएफको पोष्टमा संकटाको चार गोल
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले प्रभावशाली दोस्रो जित आत्मसात गरेको छ । दशरथ रंगशालामा बिहीबार भएको पाँचौं चरणको खेलतर्फ संकटाले विभागीय टोली एपिएफ क्लबलाई ४–२ ले हरायो ।

संकटाका लागि १९औं मिनटमा लक्ष्मण रुचालले फ्रिकिकबाट उत्कृष्ट गोल गरे । पहिलो हाफ कै ४४औं मिनटमा कर्ण लिम्बुले बक्स भित्रबाट संकटाका लागि दोस्रो गोल गरे ।

त्यस्तै दोस्रो हाफको शुरुवाततिर मार्टिनले बक्स भित्रबाटै सटिक हेड गोल गर्दै संकटाको अग्रता तेब्बर पारे । यद्यपि तेस्रो गोल खाएको पाँच मिनट बित्न नपाउँदै एपिएफका लागि नविन लामाले ५६औं मिनटमा पेनाल्टीबाट पहिलो गोल फर्काए ।

त्यस्तै ७२औं मिनटमा आशिष लामाले  विभागीय टोलीका लागि दोस्रो गोल गर्दै खेललाई ३–२ को अन्तरमा पुर्याए । यद्यपि त्यो दुई गोल सशस्त्रको हार टार्न प्रर्याप्त भने बनेन । मार्टिन्सले ८८औं मिनटमा संकटाका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको शानदार जित सुनिश्चित गरे ।

यो जितपछि संकटाको ५ खेलबाट ७ अंक भएको छ । उता पराजित एपिएफको भने चार अंक मात्र रहेको छ ।

Post Comments