News प्लानिङ ब्वाईजलाई भरौल गोल्डकपको उपाधि
गोलनेपाल

बराहक्षेत्र । प्लानिङ ब्वाईज क्लब, काठमाडौंले शनिबार सम्पन्न वाईवाई पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकपको उपाधि जितेको छ । फाइनलमा कालिका स्पोर्टस एकेडेमी, चितवनलाई २–० ले हराउँदै प्लानिङ ब्वाईज च्याम्पियन बनेको हो ।

भरौल खेलमैदानमा सम्पन्न खेलमा प्लानिङ ब्वाईजका लागि ६३औं मिनटमा मिलन राईले पहिलो गोलको खाता खोलेका थिए । त्यस्तै ८२औं मिनटमा प्रताप राईले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच प्लानिङ ब्वाईजका सुमन लामा घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । विजेता बनेको प्लानिङ ब्वाईजले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता कालिका स्पोर्टसले १ लाख ५० हजारमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक प्लानिङका मनोज प्रधान घोषित भए भने उत्कृष्ट डिफेन्डर पनि प्लानिङ कै दिनेश राजवंशी चुनिए । उत्कृष्ट मिडफिल्डर कालिका स्पोर्टसका रुप बहादुर लामा बन्दा उत्कृष्ट प्रशिक्षक प्लानिङका सचिन्द्र धिमाल घोषित भए ।

त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार विन्दवासिनी फुटबल क्लबका फोफोनाले हात परे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १०–१० हजार र ट्रफी हात पारे । त्यसैगरी प्लानिङ ब्वाईजका मिलन राई सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले पुरस्कार वापत नगद २५ हजार र ट्रफी हात पारे ।

विजयी खेलाडीहरुलाई प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री भिम आचार्य लगायत अन्य अतिथीहरुले पुरस्कृत गरे । न्यु स्टार क्लब, बराहक्षेत्र, सुनसरीको आयोजना तथा बराहक्षेत्र नगरपालिकाको संयोजनमा गत चैत्र १२ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments