News बाँसबारी क्लबले पायो सिद्धार्थ बैंकको साथ
गोलनेपाल

काठमाडौं । हाल जारी सहिद स्मारक बी डिभिजन लिग खेलिरहेको बाँसबारी क्लबले सह–प्रयोजकको रुपमा सिद्धार्थ बैंकसँग बुधबार सम्झौता गरेको छ ।

काठमाडौं महानगरपालिका ३ स्थित क्लबको कार्यालयमा आयोजित एक कार्यक्रममा क्लबका अध्यक्ष प्रेम थापा र सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक (एजीएम) प्रदीप पन्तले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे ।

दुवै पक्षबीच एक वर्षका लागि चार लाख रुपैयाँको सम्झौता भएको क्लबले जनाएको छ । सम्झौतापछि बाँसबारीका अध्यक्ष थापाले भने, ‘देशकै ठूलो सिद्धार्थ बैंकसँग प्रायोजन सम्झौता गर्न पाउँदा बाँसबारी क्लब र बाँसबारी टोलबासी अत्यन्त खुशी छौं । स्थानीय बासिन्दा दीपेश आचार्यको पहलमा हाम्रो यो सहकार्य सम्भव भएको हो । यो सहयोगले नेपालको फुटबल विकास र क्लबको उद्देश्य तथा लक्ष्य प्राप्त गर्न ठूलो सहयोग मिल्नेछ ।’

उता सिद्धार्थ बैंकका एजीएम पन्तले भन्छन्, ‘बाँसबारी क्लबसँग सहकार्य गर्न पाउँदा हामी साह्रै खुशी छौं । हामी यसरी नै बाँसबारी क्लबसँग खेलकुद र सामाजिक कार्यमा सहकार्य गर्दै अगाडि बढ्नेछौं । अहिलेलाई एक वर्षको सम्झौता गरेका छौं । यो सम्झौतालाई आगामी बर्ष पनि निरन्तरता दिएर अगाडि बढ्नेछौं ।’

बा“सबारी क्लबको मुख्य प्रायोजक अराउन्ड द हिमालयज प्रालि रहेको छ । क्लबले अराउन्ड द हिमालयजसँग १० लाख रुपैयाँको प्रायोजन सम्झौता गत फागुनमा गरेको थियो । क्लबको सहप्रायोजक चोयु ट्रेकिङ प्रा.लि., हेल्थ पार्टनर वेलनेस हस्पिटल, मार्केटिङ पार्टनर काया स्पोर्ट्स एन्ड सप्लायर्स र किट्स पार्टनर कामरु ट्रेडिङ प्रा.लि. रहेका छन् ।

Post Comments