News फाइनलमा पुलिस, उपाधिका लागि एपिएफसँग भिड्ने
गोलनेपाल

धनगढी । नेपाल पुलिस क्लब यहाँ जारी जारी प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

विहीवार सम्पन्न दोस्रो सेमिफाइनलमा पुलिसले आयोजक वनदेवी युवा क्लबलाई ३–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

धनगढी रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिए तापनि दोस्रो हाफमा पुलिसले तीन गोल गर्न सफल भयो । दोस्रो हाफको ४९औं मिनटमा निर्मला बिकले पुलिसका लागि पहिलो गोल गरिन् ।

५६औं मिनटमा रेखा पौडेलले दोस्रो गोल थपिन भने ६५औं मिनटमा निर्मलाले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पुलिसको जित सुनिश्चित गरिन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी पुलिसकी निर्मला विक प्लेयर अफ द म्याच समेत घोषित भईन् । त्यसवापत उनले नगद ५ हजार सहित ट्रफी हात पारिन् ।

पुलिसले अब फाइनलमा बैशाख १० गते शनिबारका दिन अर्को विभागीय टोली एपिएफ फुटबल क्लबसँग उपाधिका लागि भिड्नेछ ।

वनदेवी युवा क्लब, कैलालीको आयोजना तथा सुदुरपश्चिम खेलकुद परिषद्को प्रवद्र्धनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments