News उपाधिका लागि स्टार सिटी र ईलाईट भिड्ने
गोलनेपाल

धनगढी । एनआरएनए छैटौं फारवेष्ट पशुपति कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा उपाधिका लागि साविक विजेता स्टार सिटी युवा क्लब र ईलाईट युवा क्लब भिड्ने भएका छन् ।

फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल खेलमा आ–आफ्नो खेलमा जित हात पार्दै साविक विजेता स्टार सिटी र पहिलोपटक सहभागीता जनाईरहेको ईलाईट उपाधिका लागि भिड्ने पक्का भएको हो ।

धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा स्टार सिटी युवा क्लबले बिएस १५ स्पोर्टस एकेडेमीलाई नाटकीय रुपमा ६–२ ले हराउँदै लगातार दोस्रो पटक उपाधि नजिक पुगेको हो । पहिलो हाफमा बराबरी खेलेका दुबै टोलीले खेलमा भएका सबै ८ गोल दोस्रो हाफमा भएका हुन् ।

स्टार सिटीको जितमा कप्तान कुवेर सिंहले ह्याट्रिक गरे । दोस्रो हाफको ११औं मिनेटमा आफ्नो टीमका लागि खाता खोलेका कप्तान कुवेरले २१औं निमेटमा दोस्रो तथा २९औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । स्टार सिटीका लागि प्रदीप लामाले दुई गोल गर्दा विनोद केवटले एक गोल गरे । प्रदीपले दोस्रो हाफको १५औं र ३२औं मिनेटमा गोल गरे । विनोदले भने खेलको ४१औं मिनेटमा गोल गरे ।

बिएस १५ स्पोर्टस एकेडेमीका लागि विदेशी खेलाडीद्धय गुईलामे डिनले दोस्रो हाफको ४०औं मिनेट र ग्लोरीले अतिरिक्त समयमा गोल गरे । प्रतियोगिताको दोस्रो ह्याट्रिक सहित हालसम्म ४ गोल गर्दै सर्वाधिक गोलकर्ताको रुपमा रहेका स्टार सिटीका कुवेर सिंह खेलको म्यान अफ द म्याच बने । उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।

त्यस्तै दोस्रो सेमिफार्ईनल खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई स्तब्ध पार्दै पहिलो पटक प्रतियोगिता खेलिरहेको ईलाईट युवा क्लबले पनि प्रतियोगिताको फाईनलमा स्थान बनाएको छ । ईलाईटले फारवेष्ट पशुपतिलाई ३–० ले हराएको हो ।

ईलाईटका लागि विनोद केसी, भुपेन्द्र शाही र योहन्ना चौधरीले एक–एक गोल गरे । पहिलो हाफको १३औं मिनेटमा गोल गर्दै विनोदले ईलाईटलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले अगाडी रहेको ईलाईटले दोस्रो हाफमा थप गोल थप्यो । दोस्रो हाफको ८ औं मिनेटमा भुपेन्द्र र ३४ औं मिनेटमा योहन्नाले गोल गरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका ईलाईटका भुपेन्द्र शाही खेलको म्यान अफ द म्याच समेत बने । उनले नगद ५ हजार सहित ट्रफी हात पारे ।

पुस ६ गतेदेखि सुरु भएको प्रतियोगिता पुस १४ गते शनिबार सकिनेछ । धनगढी रंगशालामा शनिबार दिउँसो साढे २ बजे उपाधिका लागि स्टार सिटी र ईलाईट प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ ।

Post Comments