News एनआरएनएले फुटबल टिम ल्याउने
गोलनेपाल

काठमाडौं । गैर आवासीय नेपाली संघअन्तर्गतको एनआरएन स्पोर्टस एकेडेमीका कार्यवाहक सदस्य–सचिव धर्मराज गिरीले एनआरएनएले नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये १८ खेलमा सहभागी हुने बताएका छन् ।

उनले भने ‘हामीले तयारी तीव्र पारेका छौं, अहिले खेलाडीहरुको विवरण संकलन गर्ने काम भइरहेको छ । राखेपले तोकेको मितिसम्म खेलाडी दर्ता गर्छौं ।’

आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको एनआरएनएले यस पटक सामूहिक खेलमा पनि सहभागिता जनाउँदै छ । फुटबल, भलिबल र क्रिकेटका साथै बास्केटबलको पनि टिम आउने जनाइएको छ ।

क्रिकेटको टिम इंग्ल्याण्ड (युके) बाट आउने छ । यसैगरी भलिबलको टिम अस्ट्रेलिया र युकेबाट ल्याउने तयारी गरिएको छ भने बास्केटबलको टिम अस्ट्रेलियाबाट आउने छ । यस्तै, फुटबलको टिम ल्याउने जिम्मा हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्कीलाई दिइएको र उनले अस्ट्रेलिया र मलेसियाबाट खेलाडी छनोट गराएर टिम बनाउने बताइएको छ ।

एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले पनि नवौं राष्ट्रिय खेलकुदका लागि आफू निकै उत्साहित रहेको बताएका छन् । विदेशमा बसेका नेपालीहरुलाई नेपालसँग खेलकुदको माध्यमबाट जोड्न पाउँदा आफू उत्साहित रहेको र प्रतियोगितामा एनआरएनएको सक्रिय सहभागिता हुने भन्दै तयारीका लागि कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिएका छन् ।

खेलकुदका लागि एनआरएनएका तीन जना युवा उपाध्यक्षहरु हिमाल गुरुङ, राज रेग्मी र रोशन थापासहित संयोजकहरु अब्दुल बसिद र रविन्द्र खड्काले विभिन्न देशमा रहेका एनसीसीहरुसँग समन्वय गरिरहेको कार्यबहाक सदस्य–सचिव गिरीले बताए ।

Post Comments