News नेपालको पहिलो मैत्रीपूर्ण खेल आज
गोलनेपाल

काठमाडौं । एएफसी एसियन कप छनौटका लागि थप अभ्यास र प्रशिक्षण गर्न कतार पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेलमा टिमोर लेस्टेको सामना गर्दैछ ।

दोहा स्थित ग्राण्ड हमाद स्टेडियममा हुने खेलमा नेपालले टिमोर लेस्टे विरुद्ध पुरानै नतिजा र प्रदर्शनलाई दोहोर्याउन प्रयास गर्नेछ । नेपाल र टिमोर लेस्टे अहिलेसम्म कुल ३ पटक भिडेका छन् । जसमा नेपालले दुई खेलमा जित र १ मा बराबरी नतिजा ल्याएको छ ।

यी दुई टोली अन्तिम पटक सन् २०१६ मा मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपमा भिडेका थिए । समूह चरणमा भिडेका यी दुई टोलीबीचको त्यो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । केही वर्ष यता आफू अनुकुल नतिजा निकाल्न नसके पनि आफ्नो प्रदर्शनमा निरन्तर सुधार गरिरहेको टिमोर लेस्टेले आज नेपाल विरुद्ध बलियो चुनौति पेश गर्न सक्ने अनुमान गरिएको छ ।

फिफा वरियतामा नेपाले १६८औं स्थानमा रहँदा टिमोर लेस्टे भने १९८औं स्थानमा छ । यद्यपि आजको खेलमा वरियताले त्यति फरक नपार्ने धेरैको बुझाई छ । खेल नेपाली समयअनुसार राती ९ः४५ बजेदेखि शुरु हुनेछ ।

 

Post Comments