
झापाको काँकरभिट्टामा आजदेखि जुनियर सिटी लिग (यु-१४) फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
नेपालमा नै पहिलोपटक अक्सनमार्फत आयोजना हुन लागेको यु-१४ फुटबल प्रतियोगिता काँकरभिट्टा माविको खेलमैदानमा सुरु हुनेछ ।
प्रथम केएफसी सिटी लिग यु-१४ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जनाएको छ । सेन्टरले उत्पादन गरेका खेलाडीमध्ये प्रत्येक टिमले १७ जना खेलाडी अक्सनमार्फत र ५ जना सेन्टर बाहिरबाट गरि जम्मा २२-२२ जनाका दरले खेलाडीहरू आ–आफ्नो टिममा छनोट गरेका छन्।
प्रतियोगितामा आशिष गुरुङ मालिक रहेको क्लासिक वारियर्स, एन्जल गुरुङको राइजिङ ब्वाइज, सुरेश तिवारीको ह्याप्पी क्लब र बसन्त श्रेष्ठको संगम फुटबल क्लब गरेर ४ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।
उद्घाटन खेल क्लासिक वारियर्स र ह्याप्पी क्लब बीच हुने आयोजकले जनाएको छ । जेठ २८ गते फाइनल खेल हुने प्रतियोगिता अन्तर्गत विजेता टोलीले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजार र ट्रफी प्राप्त गर्नेछन्।
प्रतियोगिता सम्पन्न गर्न कम्तिमा ४ लाख २० हजार खर्च हुने आयोजक सेन्टरका अध्यक्ष मिन बस्नेतले जानकारी दिए । सेन्टरमा फुटबल सिक्न आउने जुनियर खेलाडीको लगावलाई मध्यनजर गर्दै खेल्नबाट बञ्चित नहून् भनेर प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
विशेष गरेर आसन्न राष्ट्रियस्तरको यु-१५ छनोट प्रतियोगितालाई मध्यनजर गरिएको पनि उनले बताए । उनका अनुसार यु-१५ मा कम्तिमा पनि यस सेनटरका उत्कृष्ट ३० जनालाई समावेश गराउने लक्ष्य लिइएको छ ।