News भारतको जित, बंगलादेश फाइनल नजिक
गोलनेपाल

काठमाडौं । साफ यु–२० च्याम्पियनसिपमा खराब शुरुवात गरेको आयोजक तथा साविक विजेता भारतले पहिलो जित निकाल्दा लगातार तीन जित हात पारेको बंगलादेश फाइनल नजिक पुगेको छ ।

शुक्रबार कालिंगा स्टेडियममा सम्पन्न पहिलो खेलमा भारतले श्रीलंकामाथि ४–० को जित निकाल्यो । स्मरण रहोस, यसअघि भारतले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको थियो । लगातार तीन हार बेहोरेको श्रीलंका भने एक खेल खेल्न बाँकी छँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यो जितसँगै भारतले पनि महत्वपूर्ण तीन अंक जोडेको छ र आफ्नो फाइनल प्रवेशको सम्भावनालाई कायम राखेको छ । भारतले आफ्नो आगामी खेल आइतबार नेपालसँग खेल्ने कार्यक्रम छ । त्यस्तै लिग चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सको सामना गर्नेछ ।

त्यसैगरी शुक्रबार नै भएको दोस्रो खेलमा बंगलादेशले माल्दिभ्सलाई ४–१ ले हरायो र लगातार तेस्रो जित दर्ता गर्यो । यो जितसँगै ३ खेलबाट ९ अंक जोडेको बंगलादेश शिर्ष स्थानमा छ । र, यदि आइतबार हुने नेपाल र भारतबीचको खेलमा भारतले अंक गुमाए बंगलादेशको फाइनल प्रवेश पक्का बन्नेछ ।

बंगलादेशले आफ्नो अन्तिम खेल अगस्त २ तारीखका दिन नेपालसँग खेल्ने कार्यक्रम छ । उता लगातार दोस्रो हार बेहोरेको माल्दिभ्सको पनि फाइनल प्रवेशको सम्भावना कठिन भएको छ । माल्दिभ्सले आफ्नो तेस्रो खेल आइतबार श्रीलंकासँग खेल्नेछ ।

 

Post Comments