News व्यास मेयर कपः नमस्ते देउराली, न्यु बुद्ध, शान्ती दिपको उत्कृष्ट जित
गोलनेपाल

दमौली । यहाँ जारी प्रथम व्यास मेयर कप खुला सेभेन ए साईड फुटबल प्रतियोगितामा शुक्रबार पनि सात खेलहरु सम्पन्न भएका छन् । बिपी बनबाटिका खेलमैदानमा भएको पहिलो खेलमा नमस्ते देउरालीले दोभान एफसीलाई ३–० ले हरायो । नमस्ते देउरालीको जितमा दिपेश आले मगरले २ गोल गरे भने रोशन राना मगरले थप एक गोल गरे ।

त्यस्तै दोस्रो खेलमा न्यु बुद्ध भानुले बागबजारलाई ६–१ को फराकिलो अन्तरले हरायो । न्यु बुद्धको जितमा अनुराग जिसीले ह्याट्रिक गरे । त्यस्तै सन्दिप रानाले २ गोल गर्दा सौगात गुरुङले १ गोल गरे । उता पराजित बागबजारका लागि अनिष पुराले एक मात्र गोल फर्काए ।

त्यस्तै दिनको तेस्रो खेलमा शान्ति दिपले गजुरी गाउँपालिकालाई ३–० ले हरायो । शान्ति दिपको जितमा बिजय श्रेष्ठ, अमिर कुँवर र सुरज बानियाले गोल गरे ।

त्यसैगरी चौथो खेलमा मिस्टर डेलिभरीले के टाउनलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ मिस्टर डेलिभरीका लागि मोहित गुरुङले गोल गरे भने के टाउनका लागि प्रदिप गुरुङले गोल गरेका थिए ।

त्यसैगरी पाँचौ खेलमा नव युवाले खैरेनीटार युथ क्लबलाई २–१ ले हरायो । नव युवाका लागि बिकास लामाले दुई गोल गरे । उता पराजित खैरेनीटारका लागि दिपेश गुरुङले एक मात्र गोल गरे ।

छैठौं खेलमा हैरान क्लबले लेखनाथ क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । हैरानको जितमा मिलन गुरुङले एक मात्र निर्णायक गोल गरे ।

त्यस्तै दिनको अन्तिम तथा सातौं खेलमा नवदिपले नवयुवालाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेले । त्यसअभि निर्धारित समयतर्फ नवदिपका लागि बिनोद थापा र नयन पुनले गोल गरेका थिए भने नवयुवाका लागि प्रवेश सारु र मनिष पुनले गोल गरेका थिए ।

सितलचोक युथ क्लब, तनहुँको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । कुल ४२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल भने यहि भाद्र १४ गतेका दिन हुनेछ ।

 

Post Comments