News व्यास मेयर कपमा आयोजक शितल चोकको जित
गोलनेपाल

दमौली । प्रथम व्यास मेयर कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक शितल चोक युथ क्लबले शनिबार जित हात पारेको छ ।

बिपी बनबाटिका खेलमैदानमा भएको दिनको अन्तिम खेलमा शितलचोकले रामज्योति स्कुललाई टाईब्रेकरमा ३–२ ले हराएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

त्यसअघि शनिबार सम्पन्न कुल सात मध्ये दिनको पहिलो खेलमा स्याङ्जा बयरघारीले व्यास युथ क्लबलाई २–० ले हरायो । स्याङ्जाको जितमा सकल गुरुङ र विश्वास श्रेष्ठले गोल गरे ।

दोस्रो खेल मिस्टर डेलिभरी र लोकतान्त्रिक चापाघाट बीच हुने भनिए तापनि तोकिएको समयसम्म मिस्टर डेलिभरी मैदानमा उपस्थित नभएपछि आयोजकले लोकतान्त्रिक चापाघाटलाई विजयी घोषित गरेको थियो ।

त्यस्तै तेस्रो खेलमा गन्नी एफसीले व्यास युथ क्लब (ए) लाई २–० ले पराजित गर्यो । गन्नीको जितमा मिन गुरुङ र मनोज गुरुङले गोल गरे । चौथो खेलमा न्यु बुद्ध भानुले जनसेवा शुक्लगण्डकीलाई २–० ले हरायो । न्यु बुद्ध भानुका लागि सन्दिप रानाले दुवै गोल गरे ।

त्यसैगरी पाँचौं खेलमा नमस्ते देउराली (ए) ले बागबजार (ए) लाई २–० ले निराश तुल्यायो । नमस्ते देउरालीका लागि जय गुरुङ नायक बने । छैठौं खेलमा भादगाउँ एफसीले न्यु जेनेरेशन स्याङ्जालाई शून्यका विरुद्ध १ गोलले हरायो । भादगाउँको जितमा अमिन लुंगेली मगरले एक मात्र निर्णायक गोल गरे ।

शितल चोक युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यहि भाद्र १४ गतेका दिन हुने आयोजकले जनाएको छ ।

Post Comments