News साफ महिला च्याम्पियनसिपमा नेपालको शानदार शुरुवात
गोलनेपाल

काठमाडौं । उपाधिको दावेदार मध्ये एक तथा गत संस्करणको उपविजेता आयोजक नेपालले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट शुरुवात गरेको छ । मंगलबार सम्पन्न उद्घाटन खेलमा नेपालले भुटानमाथि ४–० को जित निकाल्दै उत्कृष्ट शुरुवात गरेको हो ।

दशरथ रंगशालामा सम्पन्न समूह बी तर्फको सो खेलमा नेपालका लागि साबित्रा भण्डारी र अनिता बस्नेतले समान २–२ गोल गरे । खेलको १२औं मिनटमा साबित्राले पहिलो गोल गरिन् । दोस्रो हाफतर्फ ६८औं मिनटमा साबित्राले नै व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारिन् ।

भुटानी रक्षापंक्ति विरुद्ध निरन्तर धावा बोल्ने क्रममा खेलको ७३औं मिनटमा अनिता बस्नेतले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता तेब्बर पारिन् । अन्तिमतिर अनिताले नै व्यक्तिगत दोस्रो गोल थप्दै नेपालको सहज जित सुनिश्चित गरिन् ।

नेपालले हात पारेको यो जितसँगै घरेलु टोलीको सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनेको छ । समूह बी तर्फ नेपालले आफ्नो समूह चरणको दोस्रो तथा अन्तिम खेल आउँदो सोमबार श्रीलंकासँग खेल्नेछ । भुटानले पनि श्रीलंकासँगै शुक्रबार खेल्ने कार्यक्रम छ ।

त्यस्तै समूह ए मा साविक विजेता भारतसँगै माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

Post Comments