News महिला साफमा भारतमाथि हावी बनेको बंगलादेश
गोलनेपाल

काठमाडौं । यहाँ जारी प्रतिष्ठित महिला साफ च्याम्पियनसिपमा यस संस्करणमा बंगलादेश अर्को पावर हाउसका रुपमा उदाएको छ । समूह चरणमा प्रभावशाली प्रदर्शन गरिरहेको बंगलादेशले मंगलबार अन्तिम खेलमा साविक विजेता भारतलाई ३–० ले हरायो ।

दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशका लागि मोसामत शोप्नाले दुई गोल गरिन् भने सृमोति सरकारले थप एक गोल गरिन् । समूह ए मा रहेको बंगलादेश शतप्रतिशत जितका साथ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो । हारका बावजुद ६ अंक जोडेको भारत समूह उपविजेताका रुपमा अन्तिम चारमा पुग्यो ।

समूह ए का अन्य दुई टोली पाकिस्तान र माल्दिभ्स भने बाहिरिए । यद्यपि मंगलबार नै भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानले माल्दिभ्समाथि ७–० को शानदार जित निकाल्दै प्रतियोगिताको सुखद समापन गर्यो ।

सेमिफाइनलमा अब भारतले समूह बी को विजेता नेपालसँग शुक्रबार खेल्नेछ । नेपाल र भारत गत संस्करणका दुई फाइनलिस्ट समेत हुन् । सोही दिन अर्को सेमिफाइनलमा बंगलादेशले समूह बी को उपविजेता भुटानको सामना गर्नेछ । फाइनल खेल भने आगामी सोमबार हुनेछ ।

 

Post Comments