News आर्मी चितवन गोल्डकपको फाइनलमा
गोलनेपाल

चितवन । दावेदार मध्ये एक त्रिभुवन आर्मी फुटबल क्लब जारी इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा एभनिर एफसी, क्यामरुनलाई शून्यका विरुद्ध २ गोलले हराउँदै आर्मी फाइनलमा पुगेको हो । क्याम्पाचौरमा सम्पन्न खेलको १८औं मिनटमा कप्तान जर्ज प्रिन्स कार्कीको गोलबाट आर्मीले खेलमा अग्रता लिएको थियो ।

दोस्रो गोल भने वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका सन्तोष केसीले गरे । विवेक बस्नेतको स्थानमा मैदान प्रवेश गरेका केसीले ७६औं मिनटमा दोस्रो गोल थप्दै आर्मीको जित पक्का गरेका थिए ।

खेलमा आर्मीका बिमल पाण्डे म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । आर्मीले असोज ३ गते सोमबारका दिन अर्को विभागीय टोली सशस्त्र प्रहरीको नेपाल एपिएफ एफसीसँग उपाधिका लागि फाइनल खेल्नेछ ।

केबिए ग्लोबल भरतपुर एफसी, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments