News एभरेष्ट र पदमपोखरीलाई सफलता
गोलनेपाल

खैरहनी । यहाँ जारी प्रथम खैरहनी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सेन्ट्रल कलेज एभरेष्ट एफसी, चितवन र पदमपोखरी युनाइटेड एफसी, हेटौडाले जित हात पारेका छन् ।

खैरहनी माविको खेलमैदानमा भएको दिनको पहिलो खेलमा एभरेष्टले निजगढ युथ क्लब, बारालाई शून्यका विरुद्ध १ गोलले हरायो । एभरेष्टको जितमा रोशन क्षेत्रीले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता क्षेत्री नै खेलको म्यान अफ द म्याच चुनिए ।

त्यस्तै दोस्रो खेलमा पदमपोखरीले नारायणी मोटर्स युनिक एफसी, चितवनलाई ४–० को फराकिलो अन्तरले हरायो । खेलमा पदमपोखरीका लागि प्रबल थापाले दुई गोल गरे भने स्यामुएल सुनार र फोडे फोफनाले एक–एक गोल गरे । खेलमा फोफना म्यान अफ द म्याच चुनिए ।

बुधबार जित हात पारेका दुवै टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तरगत असोज ६ गते बिहीबारको पहिलो खेल अभिषेक चर्च रजहर, नवलपरासी र विरगंज युनाइटेड, गिरगंजबीच हुनेछ भने अर्को खेलमा गोल्डेन इमिनेन्ट बसन्तपुर युनाइटेड, माडी र हेटौडा फुटबल एकेडेमी, हेटौडाबीच हुने आयोजकले जानकारी दियो ।

विपन्न उत्थान मञ्च, खैरहनीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार पाउनेछ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि असोज १६ गतेका दिन हुनेछ ।

Post Comments