News आयोजक सिएफसी (निलो) र युनाइटेड युथ उपाधिका लागि भिड्ने
सुरज राना मगर

काठमाडौं । कतारमा रहेका आप्रवासी नेपालीहरुबीच भईरहेको दोस्रो सिएफसी कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा युनाइटेड युथ एफसी र आयोजक सिएफसी (निलो) प्रवेश गरेका छन् । प्रतियोगिताको छैठौं साता अन्तरगत शुक्रबार भएको दुई सेमिफाइनलमा युनाइटेड युथ र सिएफसी (निलो) ले आ–आफ्नो खेल जित्दै फाइनलमा उपाधि भिडन्त पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनलमा युनाइटेड युथले ह्यापी ब्रो एफसीलाई १–० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । युवाईएफसीको जितमा रोशन खड्काले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता रोशन खड्का नै म्यान अफ द म्याच चुनिए । त्यस्तै पराजित टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका बिष्णु राईलाई पनि आकर्षक ट्रफीका साथ पुरस्कृत गरियो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा आयोजक सिएफसी (निलो) ले पेट्रो एफसीलाई २–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भयो । आयोजकको जितमा मिलन थापा र राजकुमार चौधरीले गोल गरे । उता पराजित पेट्रोका लागि आर्यन थापाले एक मात्र गोल फर्काएका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका आयोजक सिएफसी (निलो) का दुई खेलाडी बसन्त तामाङ र देवराज चौधरीलाई आकर्षक ट्रफीका साथ पुरस्कृत गरिएको प्रतियोगिता संयोजक डेनियल लिम्बुले जानकारी दिए । सिएफसी परिवारको आयोजनाा जारी प्रतियोगिताको फाइनल खेल आउँदो शुक्रबार युनाइटेड युथ एफसी र सिएफसी (निलो) बीच हुने पनि संयोजक लिम्बुले बताए ।

Post Comments