News एन्फा अध्यक्ष नेम्वाङलाई आफ्नै कार्यसमिति तगारो
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको तिक्तता नेपाली फुटबल समर्थकहरुका लागि त्यति नयाँ नहोला । अहिले नयाँ कार्यसमितिको एउटा कुराले त्यो तिक्तता फेरि सतहमा आइपुगेको छ ।

केही दिन अघि मात्र एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले एसियाली फुटबल महासंघ (एएफसी) को निर्वाचनमा सदस्य पदका लागि आफ्नो उम्मेदवारी दिने निर्णय गरेका थिए । यद्यपि एन्फाका १४ कार्यसमिति सदस्यहरुले नेम्वाङको त्यो उम्मेदवारी स्वीकृत नगर्न एएफसीसँग आग्रह गरेका छन् । त्यसो गर्नेमा तीन उपाध्यक्षहरु पनि रहेको बताइएको छ ।

एएफसीलाई सम्वोधन गरि पठाइएको पत्रमा तीन उपाध्यक्ष र ११ जना सदस्यहरुद्वारा हस्ताक्षरित पत्रमा नेम्वाङको उम्मेदवारी रद्द गर्न अनुरोध गरिएको स्रोतले जनाएको छ । कार्यसमिति सदस्यहरुका अनुसार नेम्वाङले आवश्यक सल्लाह नगरी उम्मेदवारी दिएको बताइएको छ ।

एएफसीलाई पठाइएको सो पत्रमा हस्ताक्षर गर्नेहरुमा उपाध्यक्षहरु बिराट जंग शाही, दिपक खतिवडा र दिर्घ बहादुर केसी रहेका छन् । त्यस्तै सदस्यहरुमा भरत बहादुर थापा, टिकाराम लामा, मणिराज बिष्ट, रमेश व्यञ्जनकार, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, बिकास नारायण श्रेष्ठ, रविन चन्द, मनिष जोशी, सरिला श्रेष्ठ र रुपेश अधिकारी रहेका छन् ।

स्मरण रहोस, सन् २०२३ को फेब्रुअरी १ र २ तारीखका दिन बहराईनको मनामामा एएफसीको ३३औं कंग्रेस हुँदैछ । जसले एएफसीको नयाँ नेतृत्व चयन गर्नेछ । त्यसका लागि एएफसी मातहतका सदस्य राष्ट्रहरुलाई यहि अक्टुबर १ तारीखसम्म आ–आफ्नो मनोनयन दर्ता गर्न आह्वान गरिएको थियो ।

Post Comments