News यति बन्यो दशैं कप च्याम्पियन
गोलनेपाल

काठमाडौं । अष्ट्रेलियाको एडिलेडमा सम्पन्न दशैं कप फुटबल प्रतियोगिताको उपाधि यति फुटबल क्लबले जितेको छ । फाइनलमा रोयल वेस्टर्न क्लबलाई ४–१ ले हराउँदै यति च्याम्पियन बनेको हो ।

एडिलेड खुकुरी फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेता बनेको यतिले उपाधिसहित नगद ६५ सय डलर हात पार्यो भने उपविजेता रोयल वेस्टर्नले २ हजार डलरमा चित्त बुझायो । त्यस्तै तेस्रो स्थान हासिल गरेको एसबीएस एफसीले १ हजार डलर प्राप्त गर्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आशिष लामा चुनिए । उनले पुरस्कार वापत नगद ३ सय डलर र ट्रफी हात पारे । त्यति मात्र नभएर लामा फाइनल खेलको म्यान अफ द म्याच र सर्वाधिक गोलकर्ता पनि बने ।

त्यस्तै उत्कृष्ट गोलरक्षक एलन न्यौपाने बन्दा उत्कृष्ट डिफेन्डर राजन गुरुङ चुनिए । उत्कृष्ट मिडफिल्डर भने जगजित श्रेष्ठ बने । सबैले जनही २–२ सय डलर र ट्रफी हात पारे ।

भेट्रानतर्फ एसबीएस च्याम्पियन

त्यसैगरी भेट्रानतर्फको उपाधि एसबीएस फुटबल क्लबले जित्न सफल भयो । ब्रदर्श युनाइटेड एफसी उपविजेता बन्यो । मनबिर सिंह प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । सर्वाधिक गोलकर्ता मनदिप सिंह बने ।

सोही अवसरमा युथ क्याटगोरीतर्फ पनि मैत्रीपुर्ण खेल सम्पन्न भए । जसमा एडिलेड नेपाली विद्यालयले साविक विजेता नेपाली पाठशाला एडिलेडलाई हरायो । समापन कार्यक्रम कै दिन डेमो म्याचका रुपमा मैत्रीपुर्ण महिला फुटबल म्याचको पनि आयोजना गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments