News माई र कोलबोटेलाई सफलता
रमेश समदर्शी

एकतप्पा । इलामको फाकफोकथुम ७ स्थित दोकान डाँडामा जारी दिपावली नकआउट फुटबल प्रतियोगितामा सोमबार दुई खेल सम्पन्न भएका छन् । जसमा माई एफसी र कोलबोटे फुटबल क्लब विजयी भएका छन् ।

स्थानीय जनकल्याण माविको खेलमैदानमा भएको पहिलो खेलमा माई एफसीले स्पर्धी देनपा नाम्सेङलाई २–० गोलले पराजित गरेको हो । त्यस्तै, दोस्रो खेलमा कोलबोटेले फुङफुङ २ एएफसीमाथि गोलवर्षा गर्यो । कोलबोटेले शून्यका विरुद्ध ५ गोलले पराजित गरेको हो ।

पहिलो खेलमा माई एफसीका लागि कृष्ण योङहाङले खेलको ३७औँ मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै, प्रविण माखिम लिम्बूले खेलको ४७औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाए । खेलको म्यान अफ दी म्याच माई एफसीका प्रविण माखिम लिम्बू घोषित भए ।

यस्तै, दोस्रो खेलमा एकोहोरो दबाब सिर्जना गरेको कोलबोटेले फुङफुङ २ एएफसीमाथि गोलवर्षा गर्यो । कोलबोटेका लागि रुद्र लिम्बूले ह्याट्रिक पूरा गरे । उनले खेलको ६, २४ र दोस्रो हाफको १४ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

यसैगरी, खेलको २७औँ मिनेटमा सन्तोष लिम्बू (एङ्ग्री)ले गोल गरे भने कोलबोटेकै रविन राईले दोस्रो हाफको ७ मिनेटमा गोल गरेर फराकिलो गोलअन्तर निकालेका थिए । खेलको म्यान अफ दी म्याच ह्याट्रिककर्ता रुद्र लिम्बू घोषित भए ।

२० वटा फुटबल टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पाउँदा उपविजेताले ५० हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । भोलि पाँचथर फाल्गुनन्द ४ एभरग्रिन र आङसराङ फाइभ स्टारबीच पहिलो खेल हुनेछ । यस्तै, फुङफुङ एफसी र फाल्गुनन्द एफसीबीच अर्को खेल हुनेछ ।

 

Post Comments