News सुजित निर्णायक बन्दा सयपत्री सेमिफाइनलमा
गोलनेपाल

बराहक्षेत्र । सयपत्री फुटबल क्लब, सुनसरी यहाँ जारी नवौं सप्तकोशी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा पटनाली एफसी, सुनसरीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सयपत्री अन्तिम चारमा प्रवेश गरेको हो ।

श्री बसन्त ऋतु माविको खेलमैदानमा सम्पन्न खेलको दोस्रो हाफतर्फ १२औं मिनटमा सुजित राईले गरेको एक मात्र गोल सयपत्रीलाई सेमिफाइनल पुर्याउन निर्णायक बन्यो । निर्णायक गोलकर्ता सुजित नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत कार्तिक १ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल न्यु स्टार फुटबल क्लब, कालाबंजर, सुनसरी र सताक्षीधाम फुटबल क्लब, झापाबीच हुने आयोजकले जानकारी दियो ।

श्री सप्तकोशी युवा क्लब, बराहक्षेत्र–७, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कार्तिक ५ गतेका दिन हुनेछ ।

Post Comments