News पाँचौं फारवेष्ट पशुपति कपको विजेतालाई पाँच लाख
गोलनेपाल

धनगढी । आयोजक फारवेष्ट पशुपति युवा क्लबले यसअघि निर्धारण गरेको दुई पटकको मिति सार्दै अन्ततः माघ १७ गतदेखि पाँचौं हाइलेण्डर फरवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आयोजना गर्ने पक्का भएको छ ।

यसअघि पुस ४ गतेदेखि आयोजना हुने भनिए तापनि त्यसपछि माघ १० लाई प्रतियोगिता सारिएको थियो । तेस्रो पटक तोकिएको प्रतियोगिता माघ १७ गतेदेखि २५ गतेसम्म धनगढी रंगशालामा आयोजना गर्नका लागि तयारी थालेको आयोजक क्लबले जानकारी दिएको छ ।

प्राविधिक कारणले यसअघि दुई पटकको मिति सारेको अवस्थामा पाँचौं संस्करणको तयारीमा तिव्रताका साथ लागिरहेको क्लबका अध्यक्ष खेम रावतले बताए । प्रतियोगिताको ट्रफी भने यसअघि नै सार्वजनिक भईसकेको छ ।

यसपटक प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । चौथो संस्करणको विजेताले चार लाख तथा उपविजेताले दुई लाख पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।

त्यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार ७ सय नगद पाउनेछन । यी सवै धनराशी जोडेर आठ लाख ८४ हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ ।

धनगढी रंगशालामा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागीता रहने क्लबका सचिव ललित मिश्रले बताउ । साथै प्रतियोगिता हेर्नका लागि विद्यार्थी सहुलियतको पचास र अन्य दर्शकलाई एक सय रुपैयाँ टिकट दर समेत तोक्ने निर्णय क्लबले गरेको पनि मिश्रले जानकारी दिए ।

मुख्य प्रायोजक, सह–प्रायोजक र टिकट प्रायोजकसँग पनि सम्झौता

त्यस्तै प्रतियोगिताको पाँचौं संस्करणका लागि मुख्य प्रायोजक, सह–प्रायोजक र टिकट प्रायोजकसँग सम्झौता समेत भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहने भएको छ । यससँगै प्रतियोगिताको पाँचौं संस्करणको नाम हाईलेण्डर फारवेष्ट पशुपति कप २०७६ रहने भएको छ ।

प्रायोजन सम्बन्धी सम्झौतामा आयोजक फारवेष्ट पशुपति युवा क्लबा तर्फबाट अध्यक्ष खेम रावत र हाईलेण्डर डिष्ट्रिलरी प्रालिको उत्पादन हाईलेण्डरका तर्फबाट एरिया सेल्स म्यानेजर तारा पन्तले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस्तै प्रतियोगिताको सह–प्रायोजकको रुपमा एडभेन्चर वेष्ट होलिडेजसँग पनि सम्झौता गरिएको छ । क्लबका अध्यक्ष रावत र एडभेन्चर वेष्ट होलिडेजका सिईओ दिपक बम बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

त्यसैगरी टिकट प्रायोजकको रुपमा एक्सप्रेस अटो केयरसँग पनि पत्रकार सम्मेलनमै सम्झौता गरिएको छ । क्लबका अध्यक्ष रावत र एक्सप्रेस अटो केयरका सिईओ कृष्ण बोहोरा बीचमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

क्लबका अध्यक्ष खेम रावतले प्रायोजकको अभावमा प्रतियोगिता आयोजना गर्न निकै कठिने हुने अवस्थामा हाईलेण्डर मुख्य प्रायोजक, एडभेन्चर वेष्ट होलिडेज सह–प्रायोजक र एक्सप्रेस अटो केयर टिकट प्रायोजकको रुपमा जोडिँदा प्रतियोगितालाई सफल पार्नका लागि थप सहयोग पुग्ने बताए ।

 

Post Comments