News साङरुम्बा र कोलबोटेलाई सफलता
रमेश समदर्शी

एकतप्पा । इलामको फाकफोकथुम ७ स्थित दोकान डाँडामा जारी दिपावली नकआउट फुटबल प्रतियोगितामा बिहीबारको दुई खेलबाट साङरूम्बा एफसी र कोलबोटे एफसी विजयी भएका छन् ।

स्थानीय जनकल्याण माविको खेलमैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा साङरूम्बाले पाँचथरको आङसराङ फाइभ स्टारलाई १ ० गोलले पराजित गरेको हो । उसका लागि गोलरक्षक सुरेश लिम्बूले आकर्षक गोल गरेका थिए ।

पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरीमा खेलेका थिए । तर, दोस्रो हाफ सुरु भएकै समयमा साङरूम्बाका गोलरक्षक सुरेश लिम्बूले विपक्षीको गोलपोस्टमा लामो प्रहार गर्दै सम्झनलायक गोल गरेका हुन् । निर्णायक गोल गरेका उनले खेलको म्यान अफ दी म्याचको उपाधि पनि पाए ।

दोस्रो खेलमा कोलबोटे एफसीले माई एफसीलाई टाइब्रेकरमा पराजित गर्यो । निर्धारित समयमा गोलरहित बराबरी खेलेपछि छिनोफानो टाइब्रेकरबाट लिइएको हो । जसमा कोलबोटेले ३ १ गोलअन्तरले माई एफसीलाई रोक्न सफल बन्यो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रमण बुने पनि स्कोर भने गर्न सकेनन् । कोलबोटेको प्रहारलाई माई एफसीका गोलरक्षक प्रेम नेपालीले विफल तुल्याइदिएपछि टाइब्रेकर रोज्न बाध्य बनाएका थिए ।

टाइब्रेकरमा कोलबोटेका टंक लिम्बू, सन्देश लिम्बू र रुद्र लिम्बूको प्रहार गोलमा परिणत भयो भने रविन राईको प्रहार माईका गोलरक्षक प्रेम नेपालीले रोकेका थिए ।

यस्तै, माई एफसीका लागि प्रविण माखिम लिम्बूको प्रहारमात्र गोलमा परिणत भयो भने कृष्ण योङहाङ लिम्बूको प्रहार बाहिरिएको थियो । कोलबोटेका गोलरक्षक रोशन लिम्बूले माईका कप्तान दिलहाङ लिम्बू र सरोज लावती को प्रहार रोकेका थिए । गोलरक्षक रोशन लिम्बू म्यान अफ दी म्याच बने ।

२० वटा फुटबल टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पाउँदा उपविजेताले ५० हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । भोलि कोलबोटे एफसी र स्व.अलामी गजराज योङहाङ सोसियल ट्रष्ट र चौबन्दी एफसी र फाकफोकथुम ७ बीच खेल हुनेछ ।

Post Comments