News पथरी बन्यो सप्तकोशी गोल्डकप च्याम्पियन
गोलनेपाल

बराहक्षेत्र । यहाँ सम्पन्न नवौं सप्तकोशी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि पथरी फुटबल क्लब, मोरङले जितेको छ । शनिबार श्री बसन्त ऋतु माविको खेलमैदानमा भएको फाइनल भिडन्तमा सताक्षीधाम फुटबल क्लब, झापालाई १–३ ले हराउँदै पथरी च्याम्पियन बनेको हो ।

पथरीका लागि बिजय भुजेलले दुई गोल गरे भने उमेश कार्कीले थप एक गोल गरेका थिए । उता पराजित सताक्षीधामका लागि संजोग राईले एक मात्र गोल गरे । दोस्रो हाफमा पथरीका एकराज बुढाथोकीले रातो कार्डको सामना समेत गरेका थिए । यद्यपि दश खेलाडीमा सिमित बनेर पनि पथरीलाई उपाधि जित्न बाधा पुगेन ।

विजेता बनेको पथरीले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता सताक्षीधामले १ लाखका साथ ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच पथरीका बिजय भुजेल चुनिए । उनले नगद ५ हजार र ट्रफी हात पारे । सर्वाधिक गोलकर्ता पनि बनेका भुजेलले त्यसवापत पनि नगद ६ हजार र ट्रफी हात पारे ।

उत्कृष्ट गोलरक्षक पथरीकै सुजित चौधरी चुनिए । उत्कृष्ट डिफेनडडर पथरीका मिन धिमाल बन्दा उत्कृष्ट मिडफिल्डर सताक्षीधामका निकेश श्रेष्ठ चुनिए । उत्कृष्ट प्रशिक्षक पथरीका लाल बहादुर लावती बने । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी प्राप्त गरे ।

त्यस्तै उदियमान खेलाडी आयोजक सप्तकोशीका आदेश दर्नाल घोषित भए । उनले पनि नगद ६ हजार र ट्रफी हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी पथरीका बिबेक पौडेल घोषित भए । त्यसवापत उनले नगद ७ हजार र ट्रफी प्राप्त गरे । विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बराहक्षेत्र नगरपालिका, सुनसरीका मेयर रमेश कार्की लगायतले पुरस्कृत गरेका थिए ।

श्री सप्तकोशी युवा क्लब, बराहक्षेत्र–७, सुनसरीको आयोजना गत असोज २९ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।

Post Comments