News फाल्गुनन्द सेमिफाइनलमा प्रवेश
रमेश समदर्शी

एकतप्पा । इलामको फाकफोकथुम ७ स्थित दोकान डाँडामा जारी दिपावली नकआउट फुटबल प्रतियोगितामा शनिबार फाल्गुनन्द एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । अर्को खेलमा कोलबोटे एफसी र डिएक्सएन पितामरुङ एफसीेले गोलरहित बराबरी खेलेका छन् ।

स्थानीय जनकल्याण माविको खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा फाल्गुनन्दले साङरुम्बा एफसीमाथि १–० गोलको कठिन जित निकालेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

उसका लागि पहिलो हाफको १५औँ मिनेटमा कप्तान विवेक आङदेम्बेले गरेको गोल नै निर्णायक बनेको हो । अब फाल्गुनन्दले चौबन्दी एफसीसँग भोलि अन्तिम सेमिफाइनल खेल खेल्नेछ ।

आज नै भएको पहिलो सेमिफाइनल खेलमा कोलबोटे एफसी र पितामरुङले गोलरहित बराबरी खेले । समय अभावका कारण खेलको निर्णय हुने सकेन । आयोजक समितिको निर्णय तथा दुवै टोलीको सहमतिमा भोलि (आइतबार) बिहान टाइब्रेकरबाट खेलको निर्णय लिइने भएको छ ।

२० वटा फुटबल टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पाउँदा उपविजेताले ५० हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments